चुनाव जितेपछि के भने चन्द्र ढकालले ?

सफल खबर संवाददाता

आइतबार, १४ मंसिर २०७७, ०७ : ५४
चुनाव जितेपछि के भने चन्द्र ढकालले ?

काठमाडौ । उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्र ढकाल बिजयी भएका छन् । उवासंघको ५४ औ बार्षिक साधारण सभामा शनिवार भएको निर्वाचनमा निकटतम प्रतिद्धन्द्धी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् । 

वस्तुगत तर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ र जिल्ला नगर तर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ तथा एसोसियट तर्फको उपाध्यक्षमा रामचन्द्र संघाई निर्वाचित भएका छन् । 

महासंघमा जिल्ला नगर तर्फको मतको ५० प्रतिशत हिस्सा हुन्छ । ढकाल समुहमा कुल १ सय ५ मत खसेकोमा ढकालले ५२ मत र प्रधानले ५३ मत ल्याए । त्यस्तै ३० प्रतिशत हिस्सा रहेको एसोसियटमा ८ सय ९७ सदर मत मध्ये ढकालले ५ सय २२  र प्रधानले ३ सय ७५ मत पाए । 

त्यसैगरी ६० जना कार्यकारणी सदस्य निर्वाचित हुनुभएको छ । निजी क्षेत्रका व्यवसायीहरुको छाता संगठन महासंघको नयाँ नेतृत्वका लागि सनिबार मतदान भएको थियो । आईतबार सवेरै नतिजा घोषणा गरिएको हो । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने भएकाले अध्यक्ष बाहेकका पदमा शनिबार मतदान भएको थियो ।

निर्वाचित भएपछि वरिष्ठ उपाध्यक्ष ढकालले आफूले सम्पूर्ण व्यवसायीहरुको प्रतिनिधित्व गरेको र आफ्नो जीत भनेको व्यवसायीको जीत भएको प्रतिक्रिया दिए ।  प्यानल बनाएर निर्वाचनको मैदानमा उत्रिएका उपाध्यक्ष ढकालले मतपरिणाम घोषणा संगै आफुले प्यानल तोडेर व्यवसायीको हितमा काम गर्ने प्रतिवद्धता जनाए । 

उनले भने, “मैले यो भन्दा पहिला पनि भनेको थिएँ । हामीहरुको पक्ष विपक्ष भनेको १३ गते सांझ सम्म मात्रै हो ।  आज देखि हाम्रो पक्षविपक्ष भन्दा पनि सम्पुर्ण नीजी क्षेत्रको आवाज उठाउने हो । निर्वाचित हामी सबैले व्यवयासीका सम्बन्धमा एउटै आवाज उठाउनेछौ भन्ने जानकारी गराउन चाहन्छु । निजी क्षेत्रले नियमनकारी निकायसंग गर्ने एड्भोकेसी हामीले गर्नेछौ । मेरो जीत भनेको सम्पुर्ण व्यवसायीक साथीहरुको प्रतिनिधिको रुपमा भएको छ । ”

यस्तै एसोसियट तर्फको उपाध्यक्षमा विजयी रामचन्द्र संघाईले उद्योगहरुमा आईपरेका समस्या र श्रमिकको समस्या समाधानका लागि आफ्नो पहल हुने प्रतिक्रिया दिए । 

जिल्ला नगर तर्फको उपाध्यक्षमा बिजयी दिनेश श्रेष्ठले जिल्ला नगर वाणिज्य संघहरुलाई आफैमा सवल र सक्षम बनाउनुको साथै व्यवसायीक ज्ञान वृद्धि लगायत तर्फ आफ्नो पहल हुने बताए । त्यसैगरी साना व्यवसायी र मझौला व्यवसायीलाई सक्षम र सवल बनाउँदै पूँजीमा पहुँच स्थापित गर्ने तर्फ आफ्नो प्रयास हुने उनले बताए । वस्तुगत तर्फको उपाध्यक्षमा बिजयी अन्जन श्रेष्ठले वस्तुगत संघको विश्वासमा आफुले निर्वाचन जितेकाले उनीहरुका हितका लागि काम गर्ने प्रतिवद्धता जनाए । 

महासंघमा वस्तुगत तर्फ १ सय १ र जिल्ला तथा नगरमा १ सय ५ र एशोसियटतर्फ ९ सय ३ मतदाता थिए ।

प्रतिक्रिया दिनुहोस