पाठ्यक्रम लागू गर्न दरबन्दी सिर्जना

रासस

शनिबार, १३ मंसिर २०७७, १५ : ०४
पाठ्यक्रम लागू गर्न दरबन्दी सिर्जना

सांकेतिक तस्वीर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गर्नका लागि सबै सामुदायिक विद्यालयमा दरबन्दी नै सिर्जना गरी शिक्षक पठाउने भएको छ ।                              
यही शैक्षिकसत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्ने भने पनि कारोना भाइरसका कारण पठनपाठन ठप्प हुँदा पाठ्यक्रम लागू हुन नसकेको हो ।

महानगरपालिकाका शिक्षा विभाग प्रमुख नमराज ढकालका अनुसार हाल महानगरमा सञ्चालित ९१ सामुदायिक र ५४१ संस्थागत विद्यालयमा आगामी शैक्षिकसत्रदेखि अनिवार्य रुपमा आधारभूत तहमा स्थानीय पाठ्क्रम लागू गरिनेछ । 

पठनपाठनका लागि पाठ्यसामग्री तयारी अवस्थामा रहेको छ । संस्थागत विद्यालयमा पाठ्यसामग्री पठाउने र सामुदायिक विद्यालयमा नयाँ दरबन्दी सिर्जना गरी शिक्षकसहित पठाउने तयारी महानगरपालिकाको छ । 
 
स्थानीयस्तरको भाषाका बारेमा जानकारी दिनका लागि कक्षा १ देखि ८ सम्म १०० पूर्णाङ्कको पाठ्यक्रम अनिवार्य लागू गर्न लागिएको हो । सो विषय पठनपाठन गर्नका लागि महानगरपालिकाको ५३औँ कार्यपालिका बैठकले विद्यालयमा पठाइने शिक्षकलाई प्रशिक्षण दिने निर्णयसमेत गरिसकेको छ ।   

हाल महानगरपालिकाका सामुदायिक विद्यालयमा ४२ हजार र संस्थागत विद्यालयमा दुई लाख २० हजार विद्यार्थी पठनपाठन गर्ने गरेका छन् । सामुदायिक विद्यालयमा एक हजार ७९१  शिक्षक कार्यरत छन् ।   

प्रतिक्रिया दिनुहोस