वामदेव निवास भैसेपाटीमा के प्रस्ताव लिएर पुगे इश्वर पोखरेल ?

सफल खबर संवाददाता

शनिबार, १३ मंसिर २०७७, ०९ : ३५
वामदेव निवास भैसेपाटीमा के प्रस्ताव लिएर पुगे इश्वर पोखरेल ?

काठमाडौं । नेकपा सचिवालय बैठक आज दिउँसो १ बजे बस्दैछ । प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीको व्यक्तिवादी, गुटवादी र एकाधिकारवादी सोच र कार्यशैलीका कारण पार्टी र सरकार सञ्चालनमा गम्भिर संकट देखा परेको भन्दै कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले गत कात्तिक २८ मा सचिवालयका अन्य ४ नेता सहितको समर्थनमा प्रस्ताव पेश गरेपछि नेकपा सचिवालय बैठक निक्कै रोचक बनेको छ ।

प्रचण्डले  वैचारिक–राजनैतिक प्रश्नदेखि पार्टी र संगठनात्मक विधि, पद्धति र आचरणका सम्बन्धमा पार्टी एकताका बेलामा गरिएका प्रबन्ध र निर्णयहरुको निरन्तर अतिक्रमणद्वारा ओलीले आफू चरम व्यक्तिवादी, गुटबादी सावित गरेको जस्ता आरोप ओलीमाथी लगाउदै प्रस्ताव पेश गरेका थिए । त्यसपछि ओलीले उक्त प्रस्तावमा आरोपित सबै कुरालाई खारेज गर्ने भन्दै आफनो छुट्टै प्रस्ताव ल्याउन १० दिनको समय माग गरेका थिए । सोही आधारमा ओलीले माग गरेको १० दिन पूरा भएको छ ।

आजको बैठकमा उनले आफ्नो प्रस्ताव तयार पार्दैछन् । सचिवालयमै दुई अध्यक्षको पहिलो पटक फरक फरक प्रस्तावमा छलफल हुने भएपछि अब प्रक्रिया बहुमत अल्पमततिर जाने देखिदैछ । मिल्दा सम्म सचिवालयमा छलफलबाट सहमति खोजिने नभए विधानको धारा ६० मा भएको ब्यवस्था अनुसार बहुमत अल्पमतको प्रक्रियाबाट जाने गरी नेकपाभित्र राजनीति जान खोज्दैछ । 

सोही कारण सचिवालय सदस्य वामदेव गौतमलाई आफुतिर तान्ने र बहुमत सिद्ध गर्ने ओलीको प्रयास जारी छ । प्रधानमन्त्री ओलीले पूर्व एमाले समुहका नेताहरु वरिष्ठ नेता माधव नेपाल देखि उपाध्यक्ष गौतमसम्मलाई तान्ने प्रयासमा अनेक प्रयास गरिरहेका छन् । यस अगाडीका विवादमा जहिल्यै अन्तिम अवस्थामा पार्टी एकताका लागि भन्दै उपाध्यक्ष गौतमले ओलीलाई साथ दिएपछि ओलीले आफ्नो संकट टार्दै आईरहेका थिए ।

यो पटक पनि ओलीले गौतमलाई साथ लिन अनेक जुक्ति प्रयोग गरिरहेका छन । तर गौतम यो समाचार तयार पार्दासम्म टसमस भएका छैनन् । उनी अध्यक्ष प्रचण्डले सचिवालयमा पेश गरेको प्रस्तावकै पक्षमा अडिग छन् । गौतमलाई फकाउन ओलीले उपप्रधानमन्त्री इश्वर पोखरेललाई गौतमको निवास भंैसेपाटी पठाएका थिए ।

अध्यक्ष ओलीको कार्यकारी अधिकार अध्यक्षका रुपमा पनि गौतमलाई अहिले नै प्रयोग गर्न दिने, पार्टीको यो विवाद लगत्तै गरिने मन्त्रिपरिषद् पूर्नगठनमा पनि उपप्रधान सहित रोजेको मन्त्रालय दिने र प्रक्रिया मिलाउन सकिए चुनावी सरकारको प्रधानमन्त्री पनि दिने, नभए अर्काे चुनावमा प्रधानमन्त्रीको रुपमा पहिल्यै घोषणा गरेर जाने सम्ममा प्रधानमन्त्री ओलीले गौतमलाई साथ दिने भन्दै पोखरेल गौतम निवास पुगेका थिए । तर गौतमले यो पटक ओलीलाई साथ दिन नसक्ने सन्देश पोखरेलमार्फत पनि ओली कँहा पठाएका छन् । आजको बैठकमा ओलीले आफ्नो प्रस्ताव पेश गरेपछि केही दिन प्रस्ताव अध्ययनका लागि सचिवालय सदस्यलाई समय दिने र त्यसपछि दुवै प्रस्तावमा रहेर सचिवालय सदस्यहरुले धारणा राख्ने तयारी छ । 
 

प्रतिक्रिया दिनुहोस