सीमा विवाद वार्ताको माध्यमबाट समाधान गरौँ : प्रधानमन्त्री ओली

सफल खबर संवाददाता

शुक्रबार, १२ मंसिर २०७७, १३ : ०३
सीमा विवाद वार्ताको माध्यमबाट समाधान गरौँ : प्रधानमन्त्री ओली

file photo

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सीमा विवाद लगायतका समस्या वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने सन्देश पठाएका छन् । 

दुई दिने नेपालमा भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव हर्शवद्र्धन श्रृङ्गला मार्फत प्रधानमन्त्री ओलीले यस्तो सन्देश पठाएका हुन् । बिहीबार साँझ बालुवाटारमा भएको शिष्टाचार भेटमा प्रधानमन्त्री ओलीले सीमा विवाद लगायत नेपाल भारतबीच देखिएका समस्या वार्ताको माध्यमबाट हल गर्नुपर्ने सन्देश पठाएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिए । 

भेटमा विदेशसचिव श्रृङ्गलाले नेपाल भारत सम्बन्धलाई अगाडि बढाउनका लागि भारत सकारात्मक रहेको र समस्याहरुलाई वार्ताको माध्यमबाट समाधान गर्न चाहेको मोदीको सन्देश प्रधानमन्त्रीलाई सुनाएका थिए । जवाफमा प्रधानमन्त्री ओलीले आफुहरुले पनि वार्ताकै माध्यमबाट समस्याहरु समाधान गर्न चाहेको बताए ।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराईले भने, ‘‘भारतीय विदेश सचिवले हाम्रा समस्याहरुलाई वार्ताद्वारा समाधान गर्न चाहन्छौं भन्ने भारतीय प्रधानमन्त्रीको सन्देश रहेको कुरा बताउनुभयो । त्यसै क्रममा हाम्रो प्रधानमन्त्रीले हामी पनि नेपाल भारत सम्बन्धलाई अत्यन्त महत्व दिन्छौं र यो सम्बन्धलाई राम्रो बनाउन चाहन्छौं भन्नुभयो ।’

प्रधानमन्त्री ओलीले दुईपक्षीय भ्रमणहरुले वार्ताको वातावरण बनाउन सकारात्मक भूमिका खेल्ने पनि बताए । नेपाल सुरुबाट नै वार्ताको पक्षमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हामी सुरुदेखि वार्ताको पक्षमा रहेका छौं र अहिले पनि हाम्रो मान्यता वार्ताको माध्यमबाट हाम्रा समस्या समाधान गरौं । यी समस्याहरु हामी सरकारमा आइसकेपछि उत्पन्न भएका समस्यहरु होइनन् ।’

डा. भट्टराईका अनुसार प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई पठाएको सन्देशमा भनिएको छ, ‘इतिहासको विभिन्न कालखण्डमा उब्जिएका समस्याहरु तिनीहरुको समाधान अहिले हामीले गरेर जान सक्दा म पनि र भारतीय प्रधानमन्त्री मोदीजी पनि नेपाल भारत सम्बन्धलाई राम्रो बनाउने प्रतिवद्धता मान्यताबाट अगाडि निर्देशित छौं र त्यही मान्यतामा हामी सहमत छौं । त्यसो भएको हुनाले समस्याको समाधान वार्ताको माध्यमबाट गरौं ।’

वार्ताका लागि विभिन्न संयन्त्रहरु निर्माण भएपनि बैठक बस्न नसकेको अवस्थामा प्रधानमन्त्री र विदेशसचिवको शिष्टाचार भेटमा बैठक बस्ने तय भएको उनले बताए । परराष्ट्रमन्त्रीस्तरिय बैठकको मिति टुंगिएपछि बैठक बस्ने तय भएको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस