नेकपा दल विभाजनको संघारमा पुनः किन पुग्यो ?

मंगलबार, ०९ मंसिर २०७७, ०७ : ४०
नेकपा दल विभाजनको संघारमा पुनः किन पुग्यो ?

काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहालले कात्तिक २८ गते पार्टीको सचिवालय बैठकमा राजनीतिक प्रस्तावका नाममा अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई आरोप लगाउँदै ‘१९ बुँदे प्रस्ताव’ पेस गरेपछि बढेको फुटको जोखिम अझै टरेको छैन ।

प्रधानमन्त्री ओलीले मंसिर २ को सचिवालय बैठकमा दाहालका आरोपको मौखिक खण्डन गर्दै आउँदो सचिवालय बैठकमा लिखित जवाफ पेस गर्ने घोषणा गरेका छन् । त्यसैले मंसिर १३ को सचिवालय बैठकमा ओली कसरी प्रस्तुत हुन्छन् भन्नेमा नेकपाका नेता र कार्यकर्ताको ध्यान मोडिएको छ । त्यही बिन्दु नेकपा सग्लो रहने कि विभाजनतर्फ जाने भन्नेमा निर्णायक हुने देखिएको छ ।

पार्टीभित्रको झगडालाई नजिकबाट नियालिरहेका नेताहरूका अनुसार विगतमा भन्दा यसपटक आन्तरिक विवादको प्रकृति फरक छ । त्यसैले यसपटक विगतमा जस्तो नेताहरू मिलिहाल्छन्, दुई–चारवटा पदीय भागबन्डामा कुरा मिलेपछि अँगालो मारेर हिँडिहाल्छन् भन्ने स्थिति छैन । यसअघिका अन्तरसंघर्षमा ओली–दाहालबीच मौखिक आरोप–प्रत्यारोप हुँदै आएको थियो तर यसपटक लिखित दस्ताबेजका रूपमा आरोप आएको छ । त्यसको प्रत्यारोप गर्न ओलीले लिखित दस्ताबेज तयार गर्दै छन् ।

नेताहरूले अहिले जस्ता खालका गतिविधि गरिरहेका छन्, यी विगतमा कम्युनिस्ट पार्टी फुट्दाका क्रममा देखिने दृश्यसँग मेल खाइरहेका छन् । दुवै पक्ष कुनै हालतमा पछाडि नहट्ने भन्दै ‘पोजिसन’ बनाएर बसेका छन् । ओली र दाहालबीच मंसिर २ को सचिवालय बैठकपछि औपचारिक संवाद टुटेको छ । दुवै आ–आफ्नो निवासमा नेताहरू बोलाएर पोजिसन स्पष्ट गरिरहेका छन् ।

आफूविरुद्ध दाहालले प्रस्ताव ल्याएपछि ओलीले मंसिर २ को सचिवालय बैठकमा आरोप पुष्टि भए आफूले पद छाड्ने र पुष्टि नभए दाहालले पद छाड्नुपर्ने बताएका थिए । सचिवालय बैठकको यही ‘स्पिरिट’ मा दाहालका आरोपको एक–एक जवाफ दिने योजनामा ओली छन् । त्यसमा अहिलेसम्म दाहालले गरेका गतिविधि र कतिपय गोप्य भनिएका विषय ‘एक्सपोज’ गर्ने तयारीसमेत उनको छ ।

यो सन्देश ओलीले तीन दिनअघि दाहाललाई भेट्न गएका महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङमार्फत दिइसकेका छन् । दाहालले आफूमाथि आफ्नो राजनीतिक जीवनकालभरिकै संगीन आरोप लगाएको भन्दै ओली रुष्ट छन् । दाहालको प्रस्ताव करिब पार्टी फुटको उद्देश्यबाटै आएको उनको बुझाइ छ । उनले बालुवाटारमा आफ्नो पक्षका नेताहरूलाई जस्तो परिस्थिति आए पनि सामना गरेर जाने बताउँदै आएका छन् । ओलीलाई साथ दिँदै आएका गण्डकी प्रदेशका मुख्यमन्त्री तथा स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङले पनि पार्टी एकता टुटाउने ढंगबाट दाहालको प्रस्ताव आएको र त्यो बिन्दुबाट दाहाल पछि हटे मात्र सहमतिको ढोका खुल्न सक्ने बताए । ‘प्रधानमन्त्रीमाथि लगाइएका आरोपहरू फिर्ता लिनुपर्छ अनि मात्र सहमतिको ढोका खुल्न सक्छ, त्यो भएन भने स्थिति जटिल बन्छ,’ उनले कान्तिपुरसँग भने, ‘फिर्ता लिएको अवस्थामा नयाँ शिराबाट नयाँ सहमति बन्न सक्छ ।’

अध्यक्ष दाहालले आफ्नो पदीय मर्यादा र पार्टी नियमविपरीत प्रस्ताव ल्याएको ओली पक्षको तर्क छ । उनको बुझाइमा एउटा अध्यक्षले अर्का अध्यक्षमाथि आरोपैआरोप पेस गर्नु अराजनीतिक कदम हो । दुई अध्यक्षले दस्ताबेज पेस गर्ने एकताको स्पिरिट दाहालबाट उल्लंघन भएको ओलीले बताउने गरेका छन् ।

‘पूर्वएमालेभित्रका असमझदारीमा खेलेर उहाँ (दाहाल) ले आफ्नो समीकरण बनाउन खोज्नुभयो, यो क्रममा उहाँले पार्टी अनुशासन र मर्यादा पनि उल्लंघन गर्नुभयो,’ प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकारसमेत रहेका नेकपा केन्द्रीय सदस्य सूर्य थापाले भने, ‘आफ्ना गल्ती उहाँले सच्याउनुपर्छ ।’ ओलीनिकट नेताहरूका अनुसार दाहालले अहिले नै प्रस्ताव फिर्ता लिए ओलीको प्रत्यारोप पत्र सचिवालय बैठकमा आउनबाट रोकिने सम्भावना हुन्छ । फिर्ता नगर्ने हो भने ओलीको पनि दस्ताबेज आउँछ र त्यही बिन्दुबाट दुवैका प्रस्तावमा छलफल गर्ने कि आ–आफ्नो बाटो लाग्ने निर्क्योल हुन्छ । कान्तिपुर दैनिकमा खबर छ ।
 

प्रतिक्रिया दिनुहोस