हिउँदे अधिवेशन एक महिनाभित्रै : सभामुख सापकोटा

सफल खबर संवाददाता

सोमबार, ०८ मंसिर २०७७, १६ : १५
हिउँदे अधिवेशन एक महिनाभित्रै : सभामुख सापकोटा

file photo

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले संसदको हिउँदे अधिवेशन सुरु गर्न संसद सचिवायल तयारी अवस्थामा रहेको र सरकारसँग छलफल भइराखेको बताएका छन् ।

सोमबार सिंहदरबार स्थित संसद सचिवायलमा नेपाली कांग्रेसका नेता मोहनप्रसाद पाण्डेलाई प्रतिनिधि सभा सदस्यको शपथ ग्रहण गराएपछि पत्रकारहरुसँग कुराकानी गर्दै सभामुख सापकोटाले एक महिनाभित्र संसद् अधिवेशन सुरु हुने गरी छलफल भइराखेको बताएका हुन् । 

उनले भने, ‘अब नयाँ अधिवेशन करिब १ महिना पछाडि सुरु हुन्छ । कुराकानी चल्दै छ । सकेसम्म अगाडि नै चलाउनका लागि कुराकानी चल्दैछ ।’ कोरोना महामारीका कारण संसद चलाउने सम्बन्धमा विभिन्न विकल्पमा समेत छलफल भइराखेको उनले बताए ।

हिउँदे अघिवेशनमा सरकारले ल्याएका अध्यादेशबारे पनि छलफल हुने सभामुख सापकोटाले प्रष्ट पारेका छन् । उनले भने, ‘ती अध्यादेशहरुमा सदनमा छलफल हुने नै छ । सकेसम्म चाँडो सदन राख्नका लागि छलफल चल्दै छ ।’ संसद अभिवेशन नबोलाइएकोमा सरकार र संसदको नेतृत्वमाथि आलोचना भइरहेको अवस्थामा सभामुख सापकोटाले छिट्टै अघिवेशन बोलाउने तयारी भइरहेको बताएका हुन् । 

बजेट पारित भएपछि सकिएको संसद अघिवेशन अहिलेसम्म पनि आह्वान हुन सकेको छैन । संसद अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने व्यवस्था छ । 

प्रतिक्रिया दिनुहोस