आर्यघाटमा फेरि बढ्यो दाहसंस्कार

पत्रपत्रिकाबाट

सोमबार, ०८ मंसिर २०७७, ०८ : १५
आर्यघाटमा फेरि बढ्यो दाहसंस्कार

काठमाडौं । पशुपति आर्यघाट र भस्मेश्वर घाटमा दाहसंस्कार गर्दै आएका नवराज प्याकुरेलको भागमा जलाउनुपर्ने शवको संख्या बढेको छ । सामान्यतया दुई–तीन दिनमा एउटा शव जलाउने पालो आउने उनलाई अचेल दिनमै दुई वटासमेत जलाउने काम आइलागेको छ ।

लकडाउन र निषेधाज्ञाको अवधिमा भन्दा मृत्युदर वृद्धि भएपछि गत महिनायता दाहसंस्कारका लागि शवहरू घाटमा पुर्‍याउने क्रम बढेको हो । ‘हिजोआज मृत्यु हुनेको संख्या बढेकै हो,’ उनले भने । घाट सेवामा काम आलोपालो भाग लगाएर गर्ने १२ जनालाई नै दाहसंस्कार गर्न भ्याइनभ्याइ भएको उनले बताए । कोरोनाका कारण मृत्यु हुनेको दाहसंस्कार शवदाह गृहमा गर्ने गरिएको छ भने अन्य कारणले दिवंगत भएकाको शव अन्त्येष्टिका लागि आर्यघाट र भस्मेश्वर घाटमा ल्याइन्छ ।

आफन्त गुमाएर शव लिई आर्यघाटमा पुगेकाहरूले हिजोआज दाहसंस्कारका लागि पालो पाउन कुर्नुपर्छ । भस्मेश्वरमा पनि उत्तिकै भीड लाग्न थालेको छ । पशुपति क्षेत्र विकास कोषअन्तर्गत घाट सेवाका कर्मचारी शम्भु पौडेलका अनुसार दाहसंस्कार गर्न दिनमा कम्तीमा ४० शव ल्याइन्छन् ।

‘दोस्रो लकडाउनपछि दाहसंस्कार गर्न आउनेको संख्या ह्वात्तै बढ्यो,’ उनले भने, ‘असोजदेखि दिनमा ४० जना त घटेकै छैन ।’ कोरानाको संक्रमण रोकथामका लागि गत चैत १० मा लकडाउन भएपछि केही महिना आर्यघाटमा ल्याइने शवको संख्या घटेको थियो । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस