नेकपाभित्रको चितवन घटनाले गर्छ त पार्टी फुटको सङ्केत ?

सफल खबर संवाददाता

आइतबार, ०७ मंसिर २०७७, १६ : २६
नेकपाभित्रको चितवन घटनाले गर्छ त पार्टी फुटको सङ्केत ?

चितवन । नेकपाको विवाद अब केन्द्रमा मात्र सीमित रहेन । जिल्ला तहसम्म पनि नेकपाभित्रको विवाद झाँगिदै गइरहेको छ । चाहे त्यो कर्णाली विवाद होस्, चाहे त्यो पर्साको होस् । चाहे चितवनको घटना होस् । नेकपाभित्रको विवाद जिल्लाजिल्लामा छताछुल्ल हुने गरी देखिन थालेपछि पार्टी एकतामै गम्भीर संकट देखिएको छ ।

नेकपाभित्रको विवाद एकपछि अर्को बढ्दै जानुलाई कता यो फुटको सङ्केत त होइन भन्ने आभाष आम कार्यकर्ता पंक्तिमा देखिएको छ । चितवनमा नेता सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा पार्टी अध्यक्ष केपी ओली पक्षका कार्यकर्ताको दुर्व्यवहारले नेकपा पार्टीलाई गम्भीर मोडमा पु-याएको छ । पाण्डेको दुव्र्यवहारपछि शीर्ष नेताहरुबाट आएको फरकफरक अभिव्यक्तिले पनि नेकपा फुटको संघारमा पुग्नै लागेको आभाष मिल्छ । 

केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आन्तरिक विवाद बढ्दै जाँदा त्यसको असर जिल्ला जिल्ला तहमा पुगेको छर्लङ्ग देखिन्छ । जसका कारण आम बुद्धिजीवीले नेकपा ढिलोचाँडो फुट्ने नै हो भनेर आंकन गर्न थालेका छन् । 

प्रचण्ड पक्ष र ओली पक्षबीच भएको विवाद मत्थर हुँदै जानुको साटो झन झाँगिदै गइरहेको छ । विवादलाई शून्यान्तरमा लैजान हम्मे पर्ने पनि देखिन्छ । जिल्लाहरुमा पोखिन थालेको विवाद आगामी मङ्सिर १३ गते बस्ने सचिवालय बैठकमा पक्कै उठ्नेछ, त्यही नेताहरुबीच वारपारको अवस्था सिर्जना हुन पनि सक्ने सङ्केत देखिन थालेको छ, यद्यपी आम कार्यकर्ता पार्टी एकताको पक्षमा छन् । 

‘विवाद घट्नुको साटो अझ बढिरहेको छ, केन्द्रको विवाद जिल्ला तहसम्म पुगेको छ, विस्तारै विवाद वडा तहसम्म पुग्यो भने परिणाम के आउला ? आम कार्यकर्ता विवाद साम्य गरी एकताको पक्षमा जानुपर्ने बताइरहेका छन्’ कुनै गुटमा नदेखिएको नेकपाका एक केन्द्रीय सदस्यले भने, ‘आफ्नो आङ कनाएर आफैँलाई छारो हो, कसैले यस्तो काम गर्नुहुँदैन । सबै पार्टी एकताको पक्षमा उभिनुपर्छ ।’

कर्णालीपछि पर्सा, पर्सापछि चितवन 

जिल्लाहरुमा घटेको तीन घटनाले नेकपा कति पानीमा छ, भन्ने कुरा प्रष्ट हुन्छ । एक कर्णाली घटना, जुन घटना अझै मथ्थर भएको छैन । बेलाबेला कर्णाली विवाद उप्किरहन्छ । दुई पर्सा घटना । जुन घटनामा एक जनाको ज्यानै गयो, पार्टीभित्रको चर्को विवादले एक कार्यकर्ताको ज्यानै जानुलाई पराकाष्ठको रुपमा लिइएको छ । अर्को घटना चितवनमा सुरेन्द्र पाण्डेमाथि भएको दुव्र्यवहार । यस्ता घटनाले पार्टी एकताबद्ध भएर अघि बढ्छ भन्नुमा सन्देह नै छ । 

चितवनको घटनालाई लिएर नेताहरुबीच मत विभाजनले पनि पार्टीलाई संकटमा पारेको छ । चितवनको घटनामा प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरका नेताहरुको एकखालको धारणा आयो भने माधव प्रचण्ड पक्षका नेताहरुको भने अर्को खालको । जसले गर्दा पार्टीभित्र मौलाएको विवाद झन्झन् बढ्दै गएको प्रष्ट हुन्छ । 

चितवनको घटनामा कुन नेताले के भने ?

चितवनको घटनालाई लिएर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा र ओली निकट मानिने गोकुल बाँस्कोटाको धारणा एकै किसिमको छ । ओली पक्षका भनेर चिनिएका पूर्व मन्त्रीसमेत रहेका गोकुल बाँस्कोटाले चितवन घटनालाई लिएर ‘हातहरुको सशस्त्रीकरणभन्दा पहिला विवेक र विश्लेषणपूर्ण चेतनाको विकास नै मानवीय सशस्त्रीकरणको वास्तविक पहिचान हुन्छ । गलत विचार विरुद्ध लड्न सही विचार नै पर्याप्त हुन्छ, होहल्लाको अर्थ छैन’ भनेका छन् । 

चितवनको घटनालाई थप उत्तेजित नपारौँ भनेर नै होला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मौन रहेका छन् । हालसम्म उनको कुनै प्रतिक्रिया आएको छैन । वरिष्ठ नेता माधवकुमार नेपाललगायतका शीर्ष नेताहरुले त घटनाको भर्त्सना गर्दै दोषीलाई कडा कारबाही गर्न माग नै गरिसकेका छन् । यो मागमा ओली पक्षको कुनै धारणा आएको छैन । नेकपा चितवनले भने दोषीलाई कारबाहीको दायरामा ल्याउने जनाएको छ । चितवन घटनालगत्तै नेताहरु नेपाल, खनाल र श्रेष्ठले विज्ञप्ति र सामाजिक सञ्जालमार्फत विरोध जनाए । 

कसरी भयो चितवन घटना ?

केही दिन अघि केपी ओली पक्षका चितवनका नेताहरुले मदन भण्डारी फाउन्डेसनलाई वडासम्म पु¥याउने प्रतिबद्धता जनाएका थिए । मदन भण्डारी फाउन्डेसनका कमिटीहरु गाउँ तहसम्म धमाधम गठन भइरहेका थिए । चितवनमा स्थायी समिति बैठकले मदन भण्डारी फाउन्डेसनका गतिविधि रोक्ने गरेको निर्णय उल्लङ्घन भइरहेको थियो । 

राप्ती नगरपालिकाको एक कार्यक्रममा नेता सुरेन्द्र पाण्डेले स्थायी समिति बैठकले मदन भण्डारी फाउन्डेसनका गतिविधि रोक्ने गरेको निर्णयबारे व्याख्या गर्दै थिए । नेता पाण्डेले मदन भण्डारी फाउन्डेसनको गतिविधि रोक्नुपर्छ भन्दाभन्दै कार्यक्रममा होहल्ला स्ुरु भयो । केपी ओली जिन्दावाद, जबज जिन्दावादलगायतका नारा लगाइयो । केहीबेरमै कार्यक्रम बिथोलियो । 

विवाद झनझन चुलियो 

नेकपाभित्र कर्णाली विद्रोह, मन्त्रिपरिषद् पुनर्गठन, राजदूत नियुक्ति र पर्साका मुकेश चौरसिया हत्या लगायतका घटनाको छिनोफानो हुन सकेको छैन । यसैबेला पाण्डेमाथिको दुव्र्यवहारको घटना थपिन पुगेर आगोमा घिउ थप्ने काम भएको छ । विवाद झनझन चुलिएको छ । 

यसअघि नै एकपछि अर्को विवाद थपिँदै र चाङ लाग्दै गएको  नेकपामा पार्टी बैठकसमेत सहज रूपमा बस्न नसक्नुुका साथै बसिहाले पनि एक पक्षले अर्को पक्षलाई आरोपको वर्षा लगाउने मात्र काम भइरहेको छ । ओली पक्षले मदन भण्डारी फाउन्डेसनका गतिविधि कुनै हालतमा नरोक्ने, माधव र प्रचण्ड पक्षले फाउन्डेसका गतिविधि रोक्दै हिँड्ने अवस्था सिर्जना भयो भने अन्ततः पार्टी एक ढिक्का रहन सक्दैन । यतिबेला यसको क्षति एउटा पक्षलाई मात्र हुँदैन, दुबै पक्षले व्यहोर्नुपर्छ । 

ओली पक्षले जनताको बहुदलीय जनवाद (जबज) का कार्यक्रमलाई विस्तार गर्दै अगाडि बढाउने निर्देशित रणनीति केन्द्रदेखि स्थानीय तहसम्मै अख्तियार गरेका छन् । तर प्रचण्ड पक्षले यस्ता कार्यक्रम रोक्न माग गरिरहेको छ । जुन स्थायी समितिको निर्णयमा समेत त्यस्ता कार्यक्रम रोक्ने भनिएको छ । तर गतिविधिहरु वार–पारको ढंगले बढिरहेका छन् । 

‘चितवन घटना जसरी भयो यो गलत हो, स्थायी समितिको बैठकले गरेका निर्णयहरुको सुरेन्द्र पाण्डेले चितवनमा व्याख्या गर्नुभएको हो, त्यो पनि आफ्नै निर्वाचन क्षेत्रमा’, नेकपा बागमती प्रदेश कमिटीका सहइन्चार्ज नारायण दाहालल भने, ‘स्थायी समितिले जुन कुरा गर्नुहुँदैन भनेको छ । त्यही कुरा चितवनमा मदन भण्डारी फाउन्डेसनका नाममा तीव्र ढङ्गले भइरहेका छन् । सार्वजनिक ठाउँमा बैठकले गरेका निर्णयहरुका विरुद्ध गएको कुरा गलत हो पनि भन्न नपाउने हो भने बैठकको निर्णयको कुनै अर्थ हुँदैन ।’ 

एक पक्षले अर्को पक्षलाई अवरोध खडा गर्दै जाने हो भने पार्टी एकता थप कमजोर हुने दाहालको भनाइ छ । ‘पार्टीको निर्णयभन्दा बाहिर गएर हुने र पार्टीको एकतामा आँच आउने कुनै पनि गतिविधिले पार्टी एकतालाई अगाडि बढाउन मद्दत गर्दैन, बरु फुटलाई नै मद्दत गर्छ’, दाहालको भनाइ छ । उनले चितवन घटनालाई नियोजित भएको पनि बताए । नेकपा बागमती प्रदेशकै सचिव आनन्द पोखरेल चितवन घटनाबारे प्रदेशले कुनै वक्तव्यबाजी गर्नु जरुरी नभएको ठान्छन् । ‘यो जिल्लामा भएको घटना हो । जिल्लाबाटै मिलाउनुपर्छ हामीले वक्तव्यबाजी गर्न जरुरी छैन’, नेता पोखरेलले भने । 

प्रतिक्रिया दिनुहोस