सेरेमोनियल गृहमन्त्री !

सफल खबर संवाददाता

शुक्रबार, ०५ मंसिर २०७७, ०९ : ३९
सेरेमोनियल गृहमन्त्री !

काठमाडौं । गृहमन्त्री भएका ब्यक्ति आगामी सरकारका प्रधानमन्त्रीका रुपमा समेत हेर्ने गरिन्छ । सरकारमा पावरफुल मन्त्रीका रुपमा गृहमन्त्रीलाई लिइन्छ । राज्य शक्तिको स्रोत साधन परिचालनमा उत्तिकै महत्वपूर्ण जिम्मेवारीमा गृहमन्त्री हुने गर्छन् । कांग्रेसका शेरबहादुर देउवा देखि नेकपाका केपी ओली सम्मका नेताहरु गृहमन्त्रीकै रुपमा कार्यभार सम्हालेरै प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्न पुगेका नेता हुन् ।

गृहमन्त्री बनिसकेका वामदेव गौतम अहिले पनि प्रधानमन्त्रीको दावेदारीमा छन् । गृह चलाईसकेका र पूर्व गृहमन्त्री बनिसकेकाहरुको प्रहरी संगठनभित्र उस्तै हालीमुहाली चलिरहेकै हुन्छन । पछुवा गाडीमा अझै पनि पूर्व गृहमन्त्रीहरु हुइकिने र शान र ठाट नै अन्य मन्त्री भएकाको भन्दा फरक हुन्छ गृहमन्त्री बनिसकेका हरुका ।

झन वाहालवाला गृहमन्त्री छन भने प्रधानमन्त्री पछिको दोश्रो शक्तिशाली मन्त्रीका रुपमा हेर्ने गरिन्छ । तर केपी ओली सरकारका गृहमन्त्री रामबहादुर थापा –बादल) भने सेरोमेनियल जस्ता मात्र देखिएका छन् । माओवादी आन्दोलनभित्र एक जमना बादलको नाम शक्तिशाली नेताका रुपमा चिनिन्थ्यो ।

उनी सैन्य रणनीतिकारकै रुपमा समेत चिनिने गरेका थिए । तर सरकारमा सहभागी भएपछि उनको त्यो आफ्नै विगतको इतिहास र ओज उनी आफैले घटाईरहेका छन् । युद्दकालको बादल अहिले काहा हराए ? भन्ने प्रश्न माओवादी आन्दोलनबाट हुर्के जम्मेकाहरुले ब्यक्त गर्न थालेका छन् । सारमा उनी मन्त्रालयभित्रै हराईरहेका छन् । सेरोमेनियल गृहमन्त्री र विशुद्द जागिरे मन्त्रीका रुपमा मात्र देखा परेका छन् ।

यसका केही तथ्यहरुले पनि यो तर्कलाई पुष्टि गर्छ 

तथ्य १ :
मन्त्रालयमा वालुवाटारका मान्छे 

गृहमन्त्री बादलले आफ्नो सल्लाहकारका दुई जना ब्यक्तिलाई नियुक्त गरेका छन् । राजनीतिक सल्लाहकारका रुपमा सूर्य सुवेदी –पथिक) र सुरक्षा सल्लाहकारमा इन्द्रजित राई । पथिक माओवादी आन्दोलनवाटै आएका र वादलका सहयोगी नै भएपनि सुरक्षा सल्लाहकार रहेका राई माओवादी आन्दोलनसँग जोडिएका ब्यक्ति होइनन ।

प्रधानमन्त्री ओलीले गृहमन्त्री बादलको काम र बादलको निगारानीका लागि शुरु देखि नै सुरक्षा सल्लाहकारका रुपमा क्याविनेट वैठकवाटै इन्द्रजित राईलाई सुरक्षा सल्लाहकारका रुपमा नियुक्त गरेका छन् । अहिले राई बादलका हरेक वैठक, गतिविधिहरुमा सुक्ष्म रुपमा निरिक्षण गर्छन् । मन्त्रालय देखि नीजि निवाससम्मका गतिविधि, भेटन आउने मान्छेहरुका गतिविधि र छलफल सम्मका सम्पूर्ण गतिविधि राईले निगारानी गरेर वालुवाटारमा दैनिक रिपोटिङ गर्छन् । 

त्यसमाथी गृहसचिवमा ओलीले आफना मान्छे नै राखेका छन् । यस अगाडी प्रेम राई थिए । अहिले महेश्वर न्यौपाने छन् । गृहमन्त्रालय स्रोत भन्छन्, गृहसचिव चही मन्त्री जस्ता र मन्त्री चही सचिव जस्ता छन्, मन्त्री सेरोमेनियल छन, उनले विशुद्द जागिरे मानसिकता भन्दा माथी उठेर काम देखाउन सकेका छैनन । आफनो कार्यक्षेत्र मिचेर अन्यले काम गर्दा समेत उनी चुपचाप देखिएका छन् ।’

तथ्य २ :
मन्त्रालयको युनिट परिचालनमा उदासिनता

गृहमन्त्रालय अन्तर्गत प्राकृतिक प्रकोप व्यवस्थापन र न्यूनीकरण इकाई छ । गृह मन्त्रालय अन्तर्गत भएको यही सन्यत्रबाट कोभिड–१९ विरुद्धका काम गर्नुपर्ने थियो । तर थापाले यसमा कुनै चासो देखाएनन । उनको कार्यक्षेत्रमाथी हस्तक्षेप गदै प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री इश्वर पोखरेलले अधिकार आफुमा केन्द्रीत गरे ।

गत फागुन १८ को मन्त्रिपरिषद् बैठकले कोभिड–१९ विरुद्ध उपप्रधानमन्त्री पोखरेल नेतृत्वको उच्चस्तरीय संयन्त्र गठन गर्‍यो  । संयन्त्रमा गृहमन्त्री थापासहितका मन्त्रीहरूलाई राखे । उनको कार्यक्षेत्रमा पोखरेल हावी भए । उनी मात्र निर्देशन मान्ने कारिन्दा जस्ता मात्र देखिए । निर्देशन गर्नुपर्ने मन्त्री निर्देशन मान्नुपर्ने अवस्था आउदा सम्म गृहमन्त्री बादल चुप बसे ।

बरु प्रतिपक्ष देखि अन्य पार्टीका कतिपय नेताहरुले गृहको अधिकार क्षेत्र मिचिएको विषयमा बोले । तर अहं गृहमन्त्री केही बोलेनन । यसमा आफनो मन्त्रालयको के काम हो ? कुन इकाईले कस्तो काम गर्ने भन्ने अधिकार क्षेत्रकै विषयमा गृहमन्त्री बेखवर बने । यसले पनि उनलाई जानाजान प्रधानमन्त्रीले नै सेरोमेनिलय र छाया गृहमन्त्रीका रुपमा मात्र परिचालन गरिरहेको प्रष्टै देखाएको छ ।

तथ्य ३ :
नेपाल प्रहरीको एआईजी को दरवन्दी थप ​

गृहमन्त्री थापा यतिसम्म लाचार देखिएका छन की उनको मन्त्रालयलाई थाहा पत्तो समेत नहुने गरी नेपाल प्रहरीको एआईजी को दरवन्दी थप गरिएको छ । संगठन तथा व्यवस्थापन सर्वेक्षणविना नै नेपाल प्रहरीमा वुधबारको मन्त्रीपरिषद् वैठकले एआइजीको दरबन्दी थप गर्ने निर्णय गरेको थियो । बैठकले एआइजीको एक र डिआइजीको पाँच दरबन्दी थप्ने निर्णय गरेको हो ।

हाल महानगरीय प्रहरी कार्यालयलाई संघीय राजधानी प्रहरी कार्यालय बनाई एआइजी राख्न लागिएको हो । डिआइजीको दरबन्दी थप्ने प्रस्ताव गृह मन्त्रालयले नै गरे पनि एआइजीको प्रस्ताव गरेको थिएन । ‘मन्त्रिपरिषदबाटै सीधै निर्णय भएर आएपछि थाहा भयो,’ गृह मन्त्रालयका एक उच्च अधिकारीले भने । यो दरवन्दी थप गर्न पनि उपप्रधानमन्त्री इश्वर पोखरेल हावी भएको स्रोत बताउँछ । उपप्रधानमन्त्री पोखरेल नेतृत्वको मन्त्रिपरिषद्को प्रशासनिक समितिले सीधै एआइजी दरबन्दी थप्ने प्रस्ताव अघि बढाएको बताइन्छ । आफनो मन्त्रालय अन्तर्गतको काम के हुदैछ ? भन्ने पनि मन्त्रीले क्याविनेट वैठकवाट निर्णय हुने बेला मात्र थाहा पाए ।

यी मुख्य तीन तथ्यले पनि देखाउँछ गृहमन्त्री थापा मन्त्रालयमा कुन हैसियतमा काम गरिरहेका छन् । उनको हैसियतलाई प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री इश्वर पोखरेल लगायतले सेरोमेनियलमा सिमित गर्न खोजिरहेका छन् । तर बादल मौन बसेर चुपचाप जागिरे मन्त्रीका रुपमा मात्र देखिएका छन् । अहिलेसम्मकै गृहमन्त्रीमा सवैभन्दा कमजोर मन्त्रीका रुपमा उनी नै देखिएको गृहमन्त्रालएका एक उच्च अधिकारी बताउाछन् ।

 

 

प्रतिक्रिया दिनुहोस