एउटै स्कुलका ३२ विद्यार्थी कोरोना संक्रमित

शुक्रबार, ०५ मंसिर २०७७, ०८ : ०३
एउटै स्कुलका ३२ विद्यार्थी कोरोना संक्रमित

हुम्ला ।  नाम्खा गाउँपालिकाको यालबाङस्थित महाबौद्ध माध्यमिक विद्यालयका विद्यार्थीमा कोरोना संक्रमण फैलिएको पुष्टि भएपछि जिल्लाभरका शैक्षिक संस्था बन्द गरिएका छन् । स्वाब परीक्षण गर्दा विद्यालयको छात्रावासमा बस्ने ३२ जना विद्यार्थीमा मंगलबार कोरोना पुष्टि भएको हो ।

विद्यालयका निमित्त प्रधानाध्यापक लक्ष्मण थापाका अनुसार छात्रावासमा रहेका करिब एक सय जना विद्यार्थीको स्वाब परीक्षण गरिएको थियो । रिपोर्ट नेगेटिभ आएका अन्य विद्यार्थीलाई घर पठाइएको छ भने संक्रमितलाई छात्रावासकै आइसोलेसनमा राखिएको उनले बताए ।

‘अहिलेसम्म कसैलाई पनि गाह्रो हुने गरी लक्षण देखिएको छैन,’ उनले भने, ‘कोरोना देखिएकालाई तातोपानी खुवाएर राखिरहेका छौं ।’ संक्रमित छात्रछात्रा १२ देखि १८ वर्षसम्मका छन् । जिल्लाको एकमात्र आवासीय विद्यालय महाबौद्धमा चालु शैक्षिक सत्रमा ३ सय ४ जना विद्यार्थी भर्ना भएका छन् । यालबाङबाहिरका गाउँ र अन्य स्थानीय तहका विद्यार्थीसमेत महाबौद्धमा अध्ययनका लागि जाने गर्छन् ।

करिब दुई महिनाअघि महाबौद्धले बाहिरबाट आएका विद्यार्थी र शिक्षकको पीसीआर परीक्षण गरी पठनपाठन सुरु गरेको थियो । कक्षाकोठामा मास्क अनिवार्य गरिएको थियो । तर, अहिले छात्रावासमै कोरोना संक्रमण देखिएपछि पठनपाठन बन्द गर्नुपरेको निमित्त प्रअ थापाले बताए । ‘हामीले उच्च सावधानी अपनाएर पढाइ सुरु गरेका थियौं, तर संक्रमण भित्रिएपछि गाह्रो भयो,’ उनले भने, ‘अब केही समय विद्यालय बन्द गरेर संक्रमण नियन्त्रणमा आउने समय पर्खन्छौं ।’

कोरोना संक्रमण बढे पनि महाबौद्धमा १२ कक्षाको परीक्षा नरोकिने निमित्त प्रअ थापाको भनाइ छ । मंगलबार सुरु हुने परीक्षामा १२ जना परीक्षार्थी छन् । ती विद्यार्थीका साथै परीक्षा केन्द्रका कर्मचारीको पीसीआर परीक्षण गरी उच्च सावधानी अपनाइने केन्द्राध्यक्षसमेत रहेका थापाले जानकारी दिए । कक्षा ११ को परीक्षा भने सोमबार सकिएको छ जसमा ६ जना परीक्षार्थी थिए । नाम्खामा महाबौद्धका विद्यार्थीका साथै स्थानीय कोमजोम गुम्बाका २२ जना भिक्षु र अन्य २ जना गरी ५६ जनामा कोरोना संक्रमण देखिएको छ ।  कान्तिपुर दैनिकमा खबर छ ।