नेपाल र भारतबीच पर्यटन प्रवर्द्धनको प्रयास गर्दै भरतपुर महानगर

सोमबार, २८ फागुन २०७४, १६ : ५६
नेपाल र भारतबीच पर्यटन प्रवर्द्धनको प्रयास गर्दै भरतपुर महानगर

चितवन । भरतपुर महानगरपालिका र भारतीय महावाणिज्य दूतावास वीरगञ्जको संयुक्त आयोजनामा तीन दिनपछि शुक्रबार नारायणगढमा नेपाल भारत द्विपक्षीय पर्यटन प्रवद्र्धन गोष्ठी आयोजना गरिँदैछ । गोष्ठीको पूर्वतयारीस्वरुप सोमबार भरतपुरमा द्विपक्षीय बैठक सम्पन्न भएको छ ।
बैठकमा महावाणिज्य दूतावास वीरगञ्जका वाणिज्य दूत राजेश कुमारले भारतबाट गोष्ठीमा सहभागी हुने व्यक्तिहरुबारे जानकारी गराउनु भएको थियो । उहाँका अनुसार उक्त गोष्ठीमा भारतका विभिन्न भागबाट पर्यटन व्यवसायी, टुर अपरेटर, लगानीकर्ता, सञ्चारकर्मी र महावाणिज्य दूतावास वीरगञ्जका कर्मचारी सहभागी हुनेछन् । गोष्ठीमा भारतका विभिन्न पर्यटकीय स्थलबारे जानकारी दिने ब्रोसर, पुस्तक वितरण गरिने जानकारी दिँदै वाणिज्य दूत राजेश कुमारले नेपालका पर्यटकीय स्थलबारे जानकारी दिने प्रचार सामग्री गोष्ठीका सहभागीलाई वितरण गर्न आग्रह गर्नुभयो ।
भरतपुर महानगरपालिका आर्थिक विकास समिति संयोजक जयराम श्रेष्ठले गोष्ठी चैत २ गते दिउँसो एक बजे उद्योग वाणिज्य संघ चितवनको सभाहलमा आयोजना हुन गइरहेको जानकारी दिनुभयो । उहाँले गोष्ठी आयोजनाको अन्तिम तयारी भइरहेको जानकारी दिँदै उपसमिति बनाएर आगन्तुक भारतीय पाहुनालाई खाने, बस्ने र घुम्ने वातावरण मिलाइएको बताउनु भयो ।

गोष्ठीका सहभागीले शनिबार सौराहाबाट कसरा, जगतपुरहुँदै पर्यटकीय क्षेत्रको अवलोकन गरी मेघौलीसम्म पुग्ने कार्यक्रम रहेको छ । बैठकमा दिइएको जानकारी अनुसार आइतबार बिहान चितवन उद्योग संघमा समापन कार्यक्रमको आयोजना गरी भारतबाट आएका सबै अतिथिलाई बिदाई गरिने छ ।

प्रतिक्रिया दिनुहोस