बेवारिसे व्यवस्थापन तथा पुनःर्जीवन केन्द्र चितवनको नयाँ कार्यसमिति चयनपछि विवाद

दुबै पक्षद्वारा एक अर्कालाई आरोप-प्रत्यारोप

हिरालाल आचार्य ‘डायमण्ड’

विहीबार, २७ कार्तिक २०७७, १७ : १०
बेवारिसे व्यवस्थापन तथा पुनःर्जीवन केन्द्र चितवनको नयाँ कार्यसमिति चयनपछि विवाद

काठमाडौं । बेवारिसे व्यवस्थापन तथा पुनःर्जीवन केन्द्र चितवन शाखाको नयाँ कार्यसमिति बनेपछि संस्थामा विवाद उत्पन्न भएको छ ।

संस्थाका केन्द्रका अध्यक्ष बिनय जंग बस्नेतको उपस्थितिमा मंगलबार भरतपुरमा एक कार्यक्रमका बीच नयाँ कार्यसमिति गठन भएको थियो । गौरव उपाध्ययको संयोजकत्वमा बेवारिसे व्यवस्थापन तथा पुनःर्जीवन केन्द्र चितवनको ३० सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको थियो । यसअघि ११ सदस्यीय कार्यसमितिद्वारा चितवन शाखा सञ्चालित थियो । नयाँ कार्यसमिति चयनसँगै पुरानो कार्यसमिति स्वतः विघटन भएको छ ।

तर नयाँ कार्यसमिति आएपछि विघटित कार्यसमितिले नयाँ कार्यसमिति चयनप्रति आपत्ति प्रकट गरेको छ । आफूहरुलाई थाहै नदिई बेवारिसे व्यवस्थापन तथा पुनःर्जीवन केन्द्रले चितवन शाखाको नयाँ कार्यसमिति चयन गरेको भन्दै विघटित कार्यसमितिले बुधबार पत्रकार सम्मेलन गरेर आपत्ति प्रकट गरेको छ ।

आफूहरुलाई कुनै जानकारी बिना ५ महिनामै कार्यसमिति परिवर्तन गरेको भन्दै विघटित कार्यसमितिकी संयोजक सिता कुँवरले आपत्ति जनाइन् । संस्थाको बिधानत पहिलो समितिको तीन वर्ष कार्यकाल पुरा गरी अधिवेशनमार्फत नयाँ कार्यसमिति चयन गरिनु पर्नेमा अध्यक्ष बस्नेतले आफ्नो मनोमानी ढङ्गले कार्यसमिति गठन गर्दै हिँडेको कुँवरको भनाइ छ ।

केन्द्रीय अध्यक्षले गरेको निर्णय गलत रहेको भन्दै कुँवरले संस्थालाई आधिकारीकता दिई सकेपछि संस्थाले बेवारिसे व्यवस्थापनको पाटोमा काम गरिरहेको समयमा केन्द्रीय अध्यक्षको दवाव बढ्दै गएको र केन्द्रीय अध्यक्षले भने अनुसारका व्यक्तिलाई कार्यसमितिको पदाधिकारीमा नल्याउँदा यस्तो भएको हुन् सक्ने कुँवरले पत्रकार सम्मलेनमा बताइन् । उनले केन्द्रीय अध्यक्षले संस्थालाई नेतृत्व दिन नसकेको टिप्पणी समेत गरिन् । उनले भनिन्, “जस्तो नाम त्यस्तै काम भएको छ । अब हामी कानुनी बाटो रोज्छौं ।”

केन्द्रीय अध्यक्षले आँफूरुको आन्तरिक विवाद मिलाउनुको सट्टा झन् विवाद थप्ने काम गरेको विघटित समितिका उपसंयोजक प्रकाश थापाले बताए । अहिलेसम्म आधिकारिक रुपमा आपूmहरु नै चितवन शाखाको कार्यसमिति भएको भन्दै उनले त्यही अनुसार अघि बढ्ने बताए ।

विघटित समितिकी सदस्य आकांक्षा पोखरेलले आफूलाई नसोधि केन्द्रीय अध्यक्षले नयाँ समितिमा आफ्नो नाम महिला विभाग प्रमुख भनेर राखिदिएको बताइन् । आफू बल्ल १७ वर्ष भएको भन्दै उनले महिला विभाग प्रमुखमा काम गर्ने चाहना नै नभएको र नयाँ कार्यसमिति प्रति पनि पूर्ण असन्तुष्टि रहेका बताइन् ।

नवगठित कार्यसमितिका संयोजक गौरव उपाध्ययले केन्द्रबाट आफूलाई चितवन शाखाको संयोजक बनाइएको बताउँदै आफूले त्यही अनुसार नवगठित कार्यसमितिलाई संयोजन गरेर अहिले पनि नारायणीमा बेवारिसेहरुलाई खाना खुवाइरहेको र बेवारिसेको व्यवस्थापनमा लागिरहेको बताए । पूर्व कार्यसमितिको आपत्तिबारे केन्द्रसँग नै बुझन् उनले सुझाए ।

संस्थाका केन्द्रीय अध्यक्ष विनय जंग बस्नेतलाई यसबारेमा बुझन् पटकपटक सम्पर्क गर्दा पनि उनलाई सम्पर्कमा ल्याउन सकिएन । उनी सम्पर्कमा नआएपनि आज सामाजिक सञ्जाल फेसबुकमा यस विवादबारे उनले लेखेका थिए । हेर्नुहोस्, उनको भनाइ जस्ताको त्यस्तै ।

‘सामाजिक सेवा पदले होइन विशुद्ध मनले गर्नुपर्छ । चितवनमा संंस्थाको उद्देश्य विपरीत 'रेप केस'  जस्ता अपराधीक, जो प्रहरी प्रशासनसँग मात्र सम्बन्धि हुन्छ त्यस्ता कार्यहरु पनि चासो सहित, मिलाउने कर्यमा संलग्न भएको थाहा भएपछि हामीले सबैलाई राखेर सल्लाह सहमती अनुसार सबैले सामाजिक कार्य गरौं भनेर रातीसम्म बसेर सबैलाई समेटेर संस्थाको उद्देश्य सहितको सेवा गर्ने गरी सहमति गराउन खोज्दा उहाँहरुको उपस्थिति नभएपछी हामीले नयाँ कार्य समिती बनाएका हौं । चितवनमा नयाँ कार्य समिति बनेता पनि हामीले सिता कुँवरको टिमलाई संरक्षकको रुप राखेका छौं । सक्छौं भने नयाँ बनेको कार्य समितिसँग मिलेर सहकार्य गरौं सक्दैनौं भने मङ्सिर १९, २० गते हुने केन्द्रीय भेला नहुनजेल बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र चितवन शाखाको पुरानो समितीले सीता कुँवरको टिमले गरेको कुनै पनि कार्यको जवाफदेही हामी हुने छैनौं । नयाँ कार्य समिति गौरव उपाध्ययको संयोजकत्वमा नै चितवन शाखाको सम्पूर्ण कार्यहरूलाई मान्यता दिइनेछ । सीता कुँवरको पुरानो कार्य समितीले हालसम्म गरेका सम्पूर्ण काम जिम्मेवारीको सम्मान गर्दै गौरब उपाध्ययको नेतृत्वको नयाँ कार्य समितिले गरेका प्रत्येक कार्यको अझ राम्रो परिस्कृतसहित बेवारिसेकै सेवामा लागि पर्न हुन सबै नयाँ कार्यसमिती टिमलाई बधाइ, शुभकामना अनि सम्मान छ । जय होस ।’

बस्नेतको भनाइप्रति प्रतिक्रिया दिँदै कुँवरलेले केन्द्रीय अध्यक्षले नयाँ समिति बनाउनुको कारण दिनैपिच्छे फेर्दै गइरहेको भन्दै आफूहरुले संस्थागत उद्देश्यअनुसार नै काम गरिरहेको बताइन् । उद्देश्य विपरित र गलत कार्य गरेको प्रमाणसहित आरोप लगाउन उनले चुनौती दिइन् । दिउँसोको बैठकमा आफूहरु बसेको र रातिको बैठकमा आफूहरु उपस्थिति नभएको उनले बताइन् । रातारात होटेलमा बैठक डाक्नु पर्ने कुनै कारण नभएकाले राति बैठकमा नगएको उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस