वैदेशिक रोजगारीमा जाने ८६ प्रतिशतले घटे

पत्रपत्रिकाबाट

विहीबार, २७ कार्तिक २०७७, ०८ : २२
वैदेशिक रोजगारीमा जाने ८६ प्रतिशतले घटे

काठमाडौं । नेपालबाट वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या ८६ प्रतिशतले घटेको छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत वर्ष साउन, भदौ र असोजमा अन्तिम श्रम स्वीकृति लिइ विदेश जानेको संख्या ८९ हजार ८ सय ८३ रहेकोमा यस वर्ष ८६ प्रतिशत घटेर १२ हजार ७ सय ६९ मा मात्र सीमित भएको छ ।

श्रम गन्तव्यमा रोजगारीका क्षेत्रमा आएको संकुचनका कारण श्रमिकको मागमा कमी आएको छ । वैदेशिक रोजगारीमा जाने युवाको संख्या यसरी कमी आएको पछिल्लो डेढ दशकयताकै यो पहिलो घटना हो ।  विश्वव्यापी कोरोना संक्रमणका कारण वैकल्पिक रोजगारीको रुपमा रहेको वैदेशिक रोजगारीको मागमा आएको कमीका कारण यति धेरै कम अर्थात तीन महिनामा १४ प्रतिशत मात्र रोजगारीका लागि गएको देखिएको छ ।

यो संख्या रोजगारीका लागि विदेश जान विभागबाट श्रमिकले लिएको श्रम स्वीकृतिको संख्या हो । यसरी श्रम स्वीकृति लिएकामध्ये पनि ८० प्रतिशतभन्दा बढी बिदामा आएका श्रमिक रहेको विभागले जनाएको छ । १० वर्षअघि आव २०६७-६८ मा समेत यो अवधिमा ३० हजार नेपाली युवा रोजगारीमा गएको देखिन्छ ।

वैकल्पिक रोजगारीको रुपमा मानिँदै आएको वैदेशिक रोजगारीका मासिक औषत ४० हजारको संख्यामा नेपाली युवा विदेश जाने गरेका थिए । कोरोना संक्रमणका रोजगारदाताले कर्मचारी कटौती गरेका कारण त्यसको असर नेपालको रोजगारीमा परेको छ । कारोबार दैनिकमा खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस