निजी क्षेत्रको मनोबल नबढाइकन अर्थतन्त्रलाई गतिशील बनाउन सकिँदैन : अर्थमन्त्री पौडेल

सफल खबर संवाददाता

बुधबार, २६ कार्तिक २०७७, १६ : ५१
निजी क्षेत्रको मनोबल नबढाइकन अर्थतन्त्रलाई गतिशील बनाउन सकिँदैन : अर्थमन्त्री पौडेल

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रको आत्मविश्वास र मनोबल नबढाइकन अर्थतन्त्रलाई गतिशील बनाउन नसकिने बताएका छन् । 

बुधबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले निजी क्षेत्र बिना अर्थतन्त्रलाई गतिशिल बनाउन नसकिने बताएका हुन् । उनले कोभिडले सिर्जना गरेको चुनौतीलाई परास्त गर्दै अर्थतन्त्रलाई पुनरुत्थान गर्न, रोजगारीका अवसर बढाउन र उत्पादन बढाउने काम निजी क्षेत्रबिना सम्भव नभएको बताए । उनले अहिलेको प्रतिकुल परिस्थितिकाबीच पनि व्यवसाय सुरु गर्न र राष्ट्रिय अर्थतन्त्रमा आ–आफ्नो ठाउँबाट योगदान दिन अनुकुल परिस्थितिको निर्माण गर्ने भुमिकामा सरकार रहेको बताए ।

सरकारले घोषणा गरेका कार्यक्रमहरु कार्यान्वयनमा नगएको सम्बन्धमा आफ्नो ध्यान केन्द्रीत भएको पनि अर्थमन्त्री पौडेलले बताए । सरकारले घोषणा गरेको पुनर्कर्जा तथा स्टिमुलस प्याकेजहरु कार्यान्वयनको चरणमा रहेको उनले बताए । 

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले राजस्वका दरहरु घटाउन माग गरे । सरकारले राजस्वका दरहरु घटाउँदा कारोबार बढ्न जाने र कारोबार बढेपछि स्वतः राजस्वको आकार समेत बढ्ने भएकाले छिटोभन्दा छिटो राजस्वका दरहरु घटाउनुपर्ने अध्यक्ष श्रेष्ठले बताए ।

करका दरहरु उच्च हुँदा कुनैपनि वस्तुको मूल्य बढी हुने भएकाले कतिपय सामानहरुको अवैध आयात हुने गरेको व्यवसायीहरुले बताएका छन् । त्यसैले पनि भन्सार दर, राजस्व, मूल्य अभिवृद्धि कर लगायतका करका दरहरुमा सुधार आवश्यक रहेको तर्क व्यवसायीहरुको छ । 

प्रतिक्रिया दिनुहोस