नेपाल र भारतबीच जारी सीमा विवाद

फेरि कर्मचारीतन्त्र हावी हुने आशंका

पत्रपत्रिकाबाट

शनिबार, २२ कार्तिक २०७७, ०८ : ३४
फेरि कर्मचारीतन्त्र हावी हुने आशंका

काठमाडौं । नेपाल र भारतबीच जारी सीमा विवाद समाधान गर्न नेपालले औपचारिक वार्ताका लागि एक वर्षदेखि गरिरहेको प्रयास अझै सफल हुन सकेको छैन । गत वर्ष नोेभेम्बर २ मा भारतले नेपालको भूभागसमेत राखेर नयाँ नक्सा जारी ग¥यो । त्यसपछि गत जेठमा नेपाली भूमिमा सडक निर्माण गरी उद्घाटनसमेत ग(यो । यसले दुई देशबीचको सम्बन्धमा थप तिक्तता देखियो, सँगसँगै नेपालले पनि नयाँ नक्सा जारी गर्नुपर्ने अवस्था उत्पन्न भयो ।  

यसबीचमा नेपालले सीमा विवाद समाधानका लागि भारतसँग पटकपटक गरेका औपचारिक वार्ता प्रस्ताव भारतले कोभिड महामारीको कारण देखाउँदै पन्छाउँदै आएको छ । जबकि कोरोनाकै बीचमा केही दिनअघि मात्र भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयल नेपाल आएर प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेता भेटेर फर्किसकेका छन् । हालै भारतीय स्थल सेनाप्रमुख मनोज मुकुन्द नरवाणे पनि नेपाल आई महत्वपूर्ण भेटघाट र छलफल गरेर फर्किएका छन् ।  

नेपालसँग कोरोनाको कारण देखाउँदै वार्ताका लागि ढिलासुस्ती गरे पनि भारतले कूटनीतिक वार्ता तथा उच्चस्तरीय भेटघाट रोकेको छैन । केही समयअघि भारतका रक्षामन्त्री तथा विदेशमन्त्रीले फ्रान्सलगायतका मुलुकको भ्रमण गरिसकेका छन् । चीनलगायतका मुलुकसँगको कूटनीतिक तथा औपचारिक वार्ता पनि चलिरहेका छन् । तर नेपालको हकमा त्यस्तो हुन सकिरहेको छैन ।  

सन् २०१४ यता नेपाल–भारत सम्बन्ध उच्चस्तरीय राजनीतिक तहमा स्थापित भएको विश्वास गरिएका बेला औपचारिक रूपमै भारतीय गुप्तचर प्रमुखले प्रधानमन्त्री ओलीसँग भेटेपछि उक्त भ्रमणले ठूलो आशंका तथा तरंग उत्पन्न गराइरहेको छ । प्रधानमन्त्री ओली निकटहरूले गुप्तचर प्रमुख गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देशवाहकका रूपमा नेपाल आएको दाबी गरे पनि भारतीय पक्षले यसलाई स्वीकार गरेको छैन । अर्को तर्फ नेपालका बारेमा विवादास्पद अभिव्यक्ति दिएका भारतीय सेना प्रमुखले अहिले नै भ्रमण गर्नुपर्ने अवस्था किन आयो भनेर प्रश्न गर्नेहरू पनि छन् । नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस