कारागारमा कखरा सक्दिै कैदीबन्दी

रासस

बुधबार, १९ कार्तिक २०७७, १८ : १७
कारागारमा कखरा सक्दिै कैदीबन्दी

वीरगन्ज । केही वर्षदेखि कारागारमा बस्दै आएका २० वर्षीय रामसागर गिरी कखरा सिक्दै छन् । जवरजस्ती करणी मुद्दामा जेल जीवन बिताइरहेका गिरीले निधारमा चिन्ताको रेखा, गहभरी आँशु र मुटुभित्र पछतोपन लिएर अहिले कखरा सिक्दै आएका छन् । गिरी मात्र होइन, रौतहट कारागारमा रहेका ५६ जना कैदीबन्दीको आपराधिक हात अहिले कारागार भित्र रहेका आधारभूत प्राथमिक विद्यालयमा कखरा सिक्दै आएका हुन् ।

चेतनाको विकास र साक्षर बनाउने उद्देश्यले रौतहटको गौर नगरपालिका–३ मा रहेको सो कारागारभित्र नगरपालिकाले स्थापना गरेको आधारभूत प्राथमिक विद्यालयमा उनीहरु कखरा सिक्दै आफ्नो उज्ज्वल भविष्य कोर्दै छन् । कक्षा एक देखि पाँचसम्म अध्ययन अध्यापन हुने सो विद्यालयमा विभिन्न अपराधमा सजाय भोगिरहेका ५६ जना पुरुष कैदीबन्दी कखरा सिक्दै आफ्नो उज्ज्वल भविष्य कोरी रहेको कारागार प्रशासनले जनाएको छ । “विद्यालयमा २५ देखि ४० वर्ष उमेर समूहका ५६ जना कैदीबन्दी कखरा सिक्दै आइरहेका छन्”, विद्यालयका प्रधानाध्यापक सुकदेव मिश्रले भने, “उनीहरुका लागि नगरापलिकाले निःशुल्क पुस्तक उपलब्ध गराएको छ भने आवश्यक कापी, कलम कैदीबन्दी आफैंले व्यवस्था गर्नुपर्ने बाध्यता छ ।”

“कुख्यात डाका रत्नाकर महर्षि बाल्मीकि बन्न सक्छ भने हामी पनि पढेलेखेर समाजमा स्थापित हुन सक्छौं”, ज्यान मुद्दामा सजाय भोगिरहेका र कक्षा पाँचमा अध्ययनरत ३५ वर्षीय भगवान दासले भने, “अपराध गरी पछुतो बाहेक केही पनि पाउन नसकेकाले कारागार भित्र केही ज्ञानका कुरा सिकौ भनेर पढन आएका हुँ ।” यसैगरी लागुऔषध कारोवारमा सजाय भोगिरहेका र कक्षा एकमा अध्ययनरत २५ वर्षीय कुमार राई, कक्षा दुईमा अध्ययनरत २५ वर्षीय रघु धामी, कक्षा चारमा अध्ययनरत ३५ वर्षीय रामजी ठाकुरलगायत कैदीबन्दीको पीडा र बेदना करिब करिब उस्तै रहेको छ । उनीहरु एकै स्वरमा भन्छन्, “कानून र समाजको नजरमा हामी दोषी भयौं, तर स्थानीय सरकारले हाम्रो पढाइको व्यवस्था कारागार भित्रै गरिदिएर हामीलाई पनि सुध्रिने मौका दिएको छ ।”

बिसं १९९० मा निर्माण भएको सो कारागारमा अहिले क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेका छन । एक सय २० जना कैदीबन्दी अटाउने क्षमता भएको सो कारागारमा अहिले १५ महिलासहित ३४९ जना कैदीबन्दी रहेका छन् । कोठाको अभावका कारण एउटै कोठामा १८ जनासम्म कैदीबन्दी राख्नुपर्ने बाध्यता रहेको जेलर शम्भु यादवले बताए । उनले भने, “कारागार भित्रका संरचनाहरु पुरानो र जीर्ण भएकाले वर्षायाममा चुहिएर कैदीबन्दीलाई समस्या हुने गरेको छ ।”

दश कठ्ठा १० धुर क्षेत्रफलमा फैलिएको सो कारागारमा विशेष गरेर कर्तब्य ज्यान, जबरजस्ती करणी, लागुऔषध मुद्दाका कैदीबन्दीहरु रहेका छन् । महिला तथा पुरुष कैदीबन्दी बस्ने कोठा छुट्टा छुट्टै रहेपनि कार्यालय भवन जीर्ण भएकाले कार्यालय सञ्चालनमा समस्या हुने गरेको उल्लेख गर्दै जेलर यादवले कोठाको अभाव र जीर्ण संरचनाका कारण कुनैपनि बेला कारागार भत्किन सक्ने अवस्था पुगेको बताए ।

उनका अनुसार कैदीबन्दीको सुरक्षाका लागि कारागार परिसरभित्र १२ वटा सिसिटिभी क्यामरा जडान भएको छ भने उनीहरुलाई दैनिक उपभोग्य वस्तु खरिद गर्नका लागि कारागार भित्रै सस्तो पसल सञ्चालनमा रहेको छ । कैदीबन्दीलाई भेटन आउने आफन्तलाई कोरोना सङ्क्रमणलाई ध्यानमा राखेर सेनिटाइजर, मास्क र साबुनपानीको व्यवस्था गरिएको छ । पुरानो तथा जीर्ण भौतिक संरचनाका कारण कारागारभित्र र बाहिर पनि सुरक्षा चुनौती कायमै रहेको कारागार प्रशासनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस