थप दुई सङ्क्रमितको मृत्यु

रासस

मंगलबार, १८ कार्तिक २०७७, २१ : १५
थप दुई सङ्क्रमितको मृत्यु

काठमाडौं । कोरोना सङ्क्रमणबाट सप्तरीमा थप दुई पुरुषको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका—४ बस्ने ५८ वर्षीय पुरुषको आज कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ  ।

मोरङ्गमा  जिल्लामा शिक्षण पेशामा कार्यरत उहाँलाई ज्वरो आउने, टाउको दुखेपछि विराटनगरस्थित विराट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । सो क्रममा परीक्षण गराउँदा कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको  थियो  । त्यही उपचारको क्रममा  मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यादवले जानकारी दिनुभयो । लामो समयदेखि मधुमेह, उच्च रक्तचापबाट पीडित उहाँलाई मिर्गौलामा असर भएका कारण अस्पतालमा भर्ना गरिएको थियो  ।

यस्तै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत रेडियोग्राफर सप्तरी निवासी ३० वर्षीय पुरुषको समेत कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । जिल्लाको महादेवा गाउँपालिका—६ निवासी ती पुरुषको सोमबार साँझ मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख यादवले बताउनुभयो  । उहाँलाई स्वास्थ्यमा समस्या देखिएपछि तत्कालै आकस्मिक कक्षमा भर्नासँगै कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

दुवै शवको  व्यवस्थापनको तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ  । योसँगै सप्तरी जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २७ पुगेको जनाइएको छ ।