टेलिभिजन परीक्षण गर्दै टेलिकम

पत्रपत्रिकाबाट

मंगलबार, १८ कार्तिक २०७७, ०८ : १३
टेलिभिजन परीक्षण गर्दै टेलिकम

काठमाडौँ । आफ्ना केबल इन्टरनेट प्रयोगकर्तालाई टेलिभिजनको समेत सुविधा दिने लक्ष्य राखेको नेपाल टेलिकमले अहिले यसको परीक्षणको तयारी गर्दैछ । कम्पनीले उपलब्ध गराइरहेको फाइबर टु दि होम (एफटीटीएच)मा इन्टरनेटमा आधारित टेलिभिजन प्रसारणको परीक्षण भइरहेको कम्पनीले जनाएको हो ।

अहिले कम्पनीकै केही कर्मचारी र सीमित सङ्ख्यामा मात्र यसको परीक्षण भइरहेको छ, कम्पनीका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले भन्नुभयो । उहाँका अनुसार अब परीक्षणको दायरा विस्तार गरेर छिट्टै व्यावसायिक रूपमै टेलिभिजन प्रसारण हुनेछ । टेलिभिजन प्रसारणसँगै यसको बिलिङ प्रणाली व्यवस्थापनको काम पनि कम्पनीले गरिरहेको छ । दशैँ अगाडि नै कम्पनीले बिलिङ प्रणालीको पहिलो चरणको परीक्षण पनि गरिसकेको प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिनुभयो । उक्त परीक्षण पनि सफल भइसकेको छ, उहाँले भन्नुभयो ।

कम्पनीले हाल उपलब्ध गराइरहेको एफटीटीएच इन्टरनेटमा ग्राहकलाई ल्यान्डलाइन नम्बरसहित राउटरमा टेलिभिजन ‘पोर्ट’ समेत उपलब्ध गराएको छ । कम्पनीले व्यावसायिक रूपमा टेलिभिजन प्रसारण सुरु गरेपछि ग्राहकले सोही पोर्टमा जडान गरेर टेलिभिजन हेर्नसक्ने छन् ।टेलिकमले उपलब्ध गराइरहेको फिक्स्ड इन्टरनेटमा तुलनात्मक रूपमा गुणस्तरीय मानिएको एफटीटीएच विस्तारलाई समेत कम्पनीले प्राथमिकतामा राखेको अधिकारीले जानकारी दिनुभयो ।

साउनसम्म टेलिकमका दुई लाख १३ हजार एफटीटीएच ग्राहक रहेको नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक छ । असोजमा मात्रै एकैपटक १३ हजारभन्दा बढी एफटीटीएच प्रयोगकर्ता थपिएको अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार कुनै एक महिनामा थपिएका एफटीटीएच प्रयोगकर्तामध्ये यो अहिलेसम्मकै उच्च हो ।

पछिल्लो समय इन्टरनेट सेवा प्रदायकमाझ पनि इन्टरनेटमा आधारित आईपीटीभी सुविधा उपलब्ध गराउने क्रम जारी छ । नेपालका प्रमुख इन्टरनेट सेवा प्रदायकले उपलब्ध गराइरहेको फिक्स्ड इन्टरनेटमा विभिन्न नाममा टेलिभिजन सुविधा पनि दिँदै आएका छन् । इन्टरनेटमार्फत नै टेलिभिजन प्रसारण हुने भएकाले ग्राहकले त्यसका लागि छुट्टै अन्य उपकरणको व्यवस्था गर्नुपर्ने झन्झट यसले कम गरिदिएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस