वालुवाटारमा ओली – प्रचण्ड सवाल जवाफ (संवादका केही अंशसहित)

सफल खबर संवाददाता

आइतबार, १६ कार्तिक २०७७, ०८ : ०८
वालुवाटारमा ओली – प्रचण्ड सवाल जवाफ (संवादका केही अंशसहित)

फाईल तस्वीर

काठमाडौं ।  प्रधानमन्त्री निवास वालुवाटार ! दिउँसो १ बजे नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड ११ दिनको संवादहिनता तोड्न वालुवाटार प्रवेश गरे । दुई अध्यक्षका वीचमा एक्लाएक्लै दिउँसो २ बजेर ४५ मिनेट सम्म संवाद भयो ।

पार्टीको निर्णय कार्यान्वयनमा अटेर गरेका प्रधानमन्त्री एवं अध्यक्ष ओलीले यो वीचमा कर्णालीमा आफुखुसी सहमति भएको वक्तब्य दिने, आफै निर्देशनात्मक सर्कुलर गर्ने, भारतीय खुफिया एजेन्सीलाई नै वालुवाटारमा स्वागत गदै मध्यरातसम्म भेट गर्ने, कोभिड उपचारबाट राज्यले हात झिक्ने, पर्सा हत्याकाण्डमा आफना गुटका दोषी नेताको संरक्षणमा लाग्ने, एकतर्फी आफु निकट मन्त्रीहरुमात्र सहभागी गराई मन्त्रिमण्डल  पूर्नगठन र विस्तार गर्ने, राजदुत नियुक्तिमा पनि पार्टीमा सल्लाह नगर्ने गरी झन स्वेच्छाचारी ढंगले अगाडी बढेपछि दुई अध्यक्षका वीचमा तिक्तता बढेको थियो ।

कात्तिक ४ मा भेटवार्ता भएपछि त्यसयता ओली र प्रचण्डको भेट हुन सकेको थिएन । शनिवार प्रचण्ड पार्टी वैठक बोलाउने एजेण्डामा छलफल गर्न ११ दिनपछि वालुवाटार पुगेका थिए । त्यहा दुई नेताका वीचमा केही भनाभन समेत भएको थियो । भेटपछि दुवै अध्यक्षले आफु निकट नेताहरुलाई भेटमा भएका विषयको विफ्रिङ समेत गरेका थिए । जसको केही संवाद र सवाल जवाफ यहाँ प्रस्तुत गरिएको छ ।

प्रचण्ड : तपाईँ र मबीच सुरु भएको मतभिन्नता र असमझदारी अब एक्लाएक्लै बसेर समाधान हुन्न । म यहा अहिले पार्टीको वैठक बोलाऔं, भन्न आएको छु । तपाईँबाट पार्टी निर्णय उल्लंघन भएको छ । अब त्यसलाई लिएर पार्टी बैठकमा छलफल गरौँ । सबैभन्दा पहिले केन्द्रीय सचिवालय बैठक बोलाऔँ । पार्टीमा विषयहरु धेरै उठेका छन । छलफल गर्नुपर्ने विषय धेरै छन । सचिवालय बसौं, त्यहीवाट छलफलको आरम्भ गरौं ।

ओली : सचिवालय वैठक बसौंला । त्यो प्रमुख कुरा होइन । तर सचिवालय वैठक अगाडी वैठक के विषयमा छलफल गर्न बस्ने, त्यसमा समझदारी आवश्यक पर्ला । तपाई म बसौं पहिले एजेण्डामा समझदारी जुटाऔं । अनि बसौंला ।

प्रचण्ड : तपाईंले एकलौटी निर्णय गर्दै जानुहुन्छ, बैठक पनि डाक्नु हुन्न् । के मा पो छलफल भएर सहमति भएको छ र ? यसरी अब एक्लाएक्लै छलफल गर्नुभन्दा पार्टी कमिटिमै छलफल गरौं ।

ओली : के विषयमा छलफल गर्न वैठक बस्ने ?

प्रचण्ड : स्थायी समिति वैठक पछिका निर्णय कार्यान्वयनका सन्दर्भमा छलफल गर्न बसौं । स्थायी समितिको निर्णय विपरित राजदुत नियुक्ति भएका छन्, मन्त्रिमण्डल विस्तार र पूर्नगठनका विषय पनि छन् ।  रअका प्रमुखसँग वालुवाटारमा भएको भेटवार्ता विवादमा आएको छ । भेटवारे पार्टीमा छलफल छैन । कर्णालीका मुख्यमन्त्रीमाथीको अविश्वास प्रस्ताव र त्यसपछिका विकसित घटनाहरु छन् । पर्सामा पार्टीका नेताको हत्या भएको छ । प्रहरीमा उजुरी दिन नै पीडितले ठूलै कसरथ गर्नुपरेको छ । कोभिडको बारेमा सरकारी प्रयासमा जताततै प्रश्न उठेका छन । यी विषयहरुमा छलफल आवश्यक छ । पार्टी वैठकमा यी एजेण्डामा केन्द्रीत रहेर छलफल गरौं ।

ओली : पर्सा मा वत्तब्य दिनुभयो, त्यसमा मेरो केही थिएन, कर्णालीमा पनि प्रति वक्तब्य, प्रति निर्देशन जारी गर्नुभयो । यसरी कसरी पार्टी चल्छ ?

प्रचण्ड : कर्णालीको पनि जे जति भएका छन्, तपाईकै (प्रधानमन्त्री) कारण हो जम्मै भएको । सहमति नभएको विषयमा आफना सल्लाहकार सूर्य थापामार्फत वब्क्तब्य दिन लगाउनुभयो ।  उता (पर्सा))मा पनि पहिले पक्रेको मान्छेलाई पनि छोडेर पछि जाहेरी दर्ता पनि गर्न प्रहरीले माथीको आदेशका नाममा मान्दैनन । किन कारवाही नगरेको ? मैले जाहेरी दर्ता गर्नुपर्छ, दोषीलाई कारवाही गर्नुपर्छ भनेको न हुँ । 

ओली : तपाईंहरू मलाई असफल बनाउन कम्मर कसेरै लाग्नुभएको छ, दिनदिनै नयाँ–नयाँ ठाउँमा गुटका भेला गर्नु हुन्छ, कसरी सिध्याउने मलाई  भनेर योजना बनाउनु हुन्छ । अनि कसरी हुन्छ ?

प्रचण्ड : तपाईंले मनलाग्दी निर्णय गर्दै जाने, मैले कहिलेसम्म सहेर बस्ने ? ठिक छ पार्टीमै छलफल गरौं । त्यसैले वैठक बोलाऔं ।

ओली : वैठक बोलाऔला । पहिले  तपाई हामी बस्नुपर्छ । छलफल गर्नुपर्छ ।

प्रचण्ड : प्रवक्ताले लिखित रुपमा दुई वटा पत्र बुझाईसक्नु भयो, माधव, झलनाथ लगायतका कमरेडहरुले पनि वैठक बोलाउन पर्‍यो भनिरहनु भएको छ । वैठक तय गरौं । त्यही छलफल गरौं । निश्र्कष सामुहिक रुपमा निकाल्यौं ।

ओली :  पहिले त दुई अध्यक्षमा छलफल गरेर एउटा समझदारी बनाउन आवश्यक छ । त्यो बनाएपछि बोलाऔंला । हामी फेरि छलफलमा बसौं ।

प्रचण्ड : पछिल्लो पटक तपाईका निर्णय र कामकारबाहीले गम्भीर प्रश्न उठाएका छन् । अब तपाई र मेरो एक्लाएक्लै बार्ता हुन्न । सचिवालय बैठक बोलाऔँ । बैठकको प्रस्ताव गर्न मात्रै म आज बालुवाटार आएको हुँ ।

ओली : सचिवालय वैठक बोलाउँला । त्यसका लागि म महासचिव सँग पनि सल्लाह गर्छु , त्यसपछि बोलाउँला । तर फेरि हामी पनि एकपटक छलफल गर्नुपर्छ । 

सचिवालय वैठकको कुनै टुग्गै नलागी हिजोको प्रधानमन्त्री र प्रचण्डवीचको संवाद टुग्गिएको नेताहरुको भनाई छ ।   

प्रतिक्रिया दिनुहोस