रुसमा एकैदिनमा झण्डै १८ हजार सङ्क्रमित

एजेन्सी

विहीबार, १३ कार्तिक २०७७, २० : ५७
रुसमा एकैदिनमा झण्डै १८ हजार सङ्क्रमित

काठमाडौं । रुसमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको संख्यामा बृद्धि हुदै गइरहेको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा रुसमा १७ हजार ७१७ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

यसअघि रुसमा एकैदिन १६ हजार २०२ जना सङ्क्रमित भएका थिए । रुसमा बिहीबारसम्म कुल सङ्क्रमितको संख्या १५ लाख ८१ हजार ६९३ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । यसअघि गत अक्टोबर २६ का दिन १७ हजार ३४७ जना सङ्क्रमित भएका थिए । 

अधिकारीहरुले पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु भएकाको संख्या भने ३६६ रहेको जनाएका छन् । अघिल्लो दिन भने ३४६ जनाको मृत्यु भएको थियो । रुसमा अहिलेसम्म कोरोनाका कारण २७ हजार ३०१ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस