कुन कलाकारले कसरी मनाउँदैछन् यस वर्षको दसैँ ?

सफल खबर संवाददाता

शनिबार, ०८ कार्तिक २०७७, १७ : ५०
कुन कलाकारले कसरी मनाउँदैछन् यस वर्षको दसैँ ?

काठमाडौँ । विगतका वर्षजस्तो यो वर्षको दसैँ कसैको लागि पनि उल्लासमय छैन । जताततै कोरोना कहरका कारण डरैडरमा सबैलाई दसैँ मनाउनुपर्ने बाध्यता छ । प्रशासनले जो जहाँ छ, त्यही बसेर दसैँ मनाउन प्रशासनले भनिरहेको छ । कसैले पनि यस वर्ष खुलेर सपिङ गर्न पाएका छैनन् । खुलेर भेटघाट हुन पाएको छैन । रामरमाइलो गर्नुको सट्टा घरमै सीमित रहेर मनाउनुपर्ने बाध्यता छ । कतिपय त कोरोनाको डरका कारण घर फर्किन समेत पाएका छैनन् । हाम्रा कलाकारहरूको अवस्था पनि उदासलाग्दो छ । कलाकारहरु यस पटक कोरोनाका कारण आर्थिक चपेटामा पनि परे । उनीहरुले न फिल्म चलाउन पाए, न स्टेज प्रोग्राम गर्न नै । 

कुन कलाकारले कसरी मनाउँदैछन् त यस वर्षको दसैँ ? 

दीपकराज गिरी (कलाकार) 

कलाकार दीपकराज गिरीले आफ्नो बाल्यकाल बितेको ठाउँ चन्द्रागिरी नगरपालिकाको दहचोकमा परिवारसँग बसेर मनाउने भएका छन् ।यसपालि सकेसम्म अलि वृद्ध उमेरकाहरुबाट टीका नथाप्ने उनको योजना छ । ‘वृद्धवृद्धाहरुसँग टीका नलगाउने निधो गरेका छौं । उहाँहरुलाई समस्यामा पार्नु भएन । उहाँहरुले टाढैबाट अक्षता छरिदिनुहुन्छ । आशीर्वाद छरिदिनुहुन्छ । स्वस्थ व्यक्तिले टीका लगाइदिने कुरा छ,’ उनले सुनाए, ‘सुरक्षा अपनाएर, मास्क–स्यानिटाइजर लगाएर दसैं मनाइन्छ ।’
यसपटक कोरोनाले फिल्म हल ठप्प छन् । यसपालि फिल्मको प्रचार–प्रदर्शन केही छैन । म परिवारसँगै छु । यस वर्ष एकअर्कालाई सहयोग गर्दै दसैं मनाउन सल्लाह दिन्छन् दीपक । ‘कोरोनाले धेरैको रोजगारी गुमेको छ । कतिले दसैंको तलब पनि पाएका छैनन् । घरभाडा तिर्न, खानको धौधौ छ । यसका बाबजुद पनि दसैं आयो । त्यसैले एकअर्कालाई सहयोग गरेर दसैं मनाउन अनुरोध गर्दछु’ उनले भने ।

विपीन कार्की (अभिनेता) 

अभिनेता विपिन कार्की यसपाली विराटनगरस्थित घरै गएर बुबाआमाको हातको टीका थाप्ने बताउँछन् । यति बेला कोरोना महामारीका कारण परिस्थिति अनुकूल छैन । तर, भर्खरै बिरामीबाट तङ्ग्रिएकी आमालाई भेट्न उनी आफ्नो घर जानेविचार गरेका छन् । 
यसपालि आफन्तकहाँ भने उनी सकेसम्म जानेछैनन् । पहिला त छिमेकी आफन्तकोमा दसैं मनाउन गइन्थ्यो । यसपालि गइन्न होला । बुबा आमाको हातबाट टीका थाप्न जाने हो । त्यो नै पर्याप्त हुन्छ’ उनले सुनाए ।

गत माघमा उनकी आमा फोक्सोसम्बन्धी समस्याका कारण गम्भीर बिरामी भएकी थिइन् । ‘आमा अहिले ठीक हुनुभएको छ, आमालाई भेट्न भए पनि म विराटनगर जाँदैछु’ उनले भने ।  

केकी अधिकारी (अभिनेत्री) 

अभिनेत्री केकी अधिकारीको दसैं यसपालि घरभित्रै सीमित हुनेछ । पहिले–पहिले दसैंमा मामाघर जान्थिन् उनी। मामाघर काठमाडौंमै हो । तर यस पटक कोरोनाले गर्दा कतै जाने सोचे नबनाएकी केकी बताउँछिन् । घरमै आमाबुबा र भाइसँगै दसैं मनाउने योजनामा छिन् ।

केकीको भनाइमा यो दसैं ‘फ्यामिली आइसोलेसन’जस्तै हुनेछ । बेग्लै अनि स्मरणीय अनुभूति हुनेछ । उनी भन्छिन्,  ‘खासै सपिङ पनि छैन । पहिला एक र दुई पटक लगाएको कपडा लगाएरै दसैं मनाउँछु । घरमै टीका लगाइन्छ । मिठो खायो, बस्यो । फोनमा एक चरण ठूलाबडासँग कुरा हुन्छ होला । आशीर्वाद मागिन्छ ।’ 

प्रदीप खड्का  (अभिनेता) 

अभिनेता प्रदीप खड्का पोखरामा गएर दसैँ मनाउने भएका छन् । पोखरामा अभिनय कक्षामा दसैँ मनाउने उनको विचार छ । उनी स्टुडियोका अनुप बरालसँग तीनमहिने कोर्स पढ्दै छन् । तिहारसम्म उनी पोखरातिर हुन्छन् । 
उनले पनि दसैंको टीका नथापेको तीन वर्ष भइसक्यो । गत वर्ष काका बितेका कारण मिलेन । त्यसअघिको वर्ष फिल्मको सुटिङमा व्यस्त थिए ।

मनोज गजुरेल (हास्य कलाकार)
मनोज गजुरेलको यो पटकको दसैँ काठमाडौंमै बित्नेछ। किनमेल खासै हुँदैन, यसो अलिअलि । ‘दसैँको रमाइलो पक्ष भेटघाट र घुमघाम हो, यसपटक कोरोनाका कारण यस्तो कार्यक्रम हुँदैन । यो पटक अनलाइनबाटै दसैँ मनाउन उनले सुझाव दिएका छन् । 

जितु नेपाल (कमेडियन)
कलाकार जितु नेपालले यस पटकको दसैँ लोकन्थलीस्थित घरमा मनाउने विचार गरेका छन्। अति आवश्यक सामानबाहेक किनमेल नगर्ने, भिडभाडमा नजाने सोच बनाएको उनी बताउँछन् ।  दसैँको मनपर्ने दुर्गा देवीको पूजा र मान्यजनबाट आशीर्वाद नै हो । कोरोनाको सतर्कतासाथ सामान्य दसैँ मनाउने विचारमा छन् उनी । भन्छन्, ‘सतर्क भएर दसैँ मनाउने हो, कोरोनाको वर्ष हो, यसपटक भेटघाटका कार्यक्रम बन्द गरौँ, घरमै दसैँ मनाऔँ ।’ 

प्रतिक्रिया दिनुहोस