ढिके नुनसँग भटमास र बेथे साट्दै किसान

रासस

मंगलबार, ०४ कार्तिक २०७७, २० : ०३
ढिके नुनसँग भटमास र बेथे साट्दै किसान

फाईल तस्वीर

काठमाडौं । प्रचाडपर्व नजिकिएसँगै गाउँमा आफूले फलाएका भटमास र बेथे बोकेर ढिके नुनसँग साट्न जिल्लाका किसान प्रमुख बजारमा धाउन थालेका छन् ।

किसानले प्रतिकिलो भटमाससँग तीन किलो र बेथेसँग साढे दुई किलो नुन साट्ने गरेका छन् । आदर्श गाउँपालिका मौवाका स्थानीयबासी तिलक ओझाले भन्नुभयो, “यो वर्ष गाउँमा भटमास र बेथेको राम्रो उत्पादन भएको छ । बिक्री गर्न तथा नुनसँग साट्न भ्याइ नभ्याइ छ ।” 

किसानले आफूले उत्पादन गरेका भटमास तथा बेथे बिक्रीका लागि जिल्लाका प्रमुख बजार दिपायल, पिपल्ला, सिलगढी, बिपीनगर, मौवा, सुवाखानलगायतका ठाउँमा लाने गरेका छन् । किसानले भटमास नगदमा बिक्री गर्ने भन्दा पनि ढिके नुनसँग साट्ने गरेको दिपायल पिपल्लास्थित घटाल ट्रेडर्स एण्ड सप्लायर्सका व्यापारी वीक्रमबहादुर साउदले बताउनुभयो । उहाँले भन्नुभयो, “ग्राहकहरु नगद भन्दा पनि नुनसँग सामान साट्न खुशी हुने भएकाले  हामी बस्तु साटासाट गरिरहेका छौँ । हामीलाई पनि राम्रै भएको छ ।”

जिल्लाका नौ वटै स्थानीय तहका अधिकांश गाउँँका कृषक भटमाससँग ढिके नुन साट्न व्यापारीकहाँ धाउँछन् । भटमास उत्पादन गर्ने किसान दैनिकजसो किलोका किलो भटमास लिएर ढिके नुनसँग साट्न आउँने तथा यहाँबाट कट्टाका कट्टा ढिके नुन लगेर फर्किने गरेको देख्न पाइन्छ । भाटमाससँग किसानले ढिके नुन साट्न थालेपछि यहाँका बजारमा अहिले भटमास सङ्लकहरुले ठाउँ–ठाउँमा ढिके नुनसहितका तराजु राखेर बस्ने गरेको दिपायलका स्थानीयवासी बहादुर कोलीले जानकारी दिनुभयो । 

यहाँका किसानले वर्षायाममा प्राय सबैभन्दा बढी भटमास, बेथे, कोदो तथा अन्य दलहन बाली लगाउँदै आएका छन् । भटमास र बेथे प्रायः अन्य जङ्गली जनावरले नोक्सान नगर्ने भएका कारण पनि जिल्लामा सबैभन्दा बढी भटमास उत्पादन हुने गरेको जिल्ला कृषि समन्वय एकाइ, कार्यालयको तथ्याङ्कले जनाएको छ । यहाँका ग्रामीण क्षेत्रमा आयोडिनयुक्त नुनभन्दा पनि ढिके नुन बढी प्रयोग हुने भएका कारण किसान भटमाससँग ढिके नुन साट्न आकर्षित हुन गरेको स्थानीयबासीहरु बताउछन् । गाइ, भैसीसहित अन्य बस्तुभाउलाई कुडोमा ढिके नुन हालेर नै दिइने भएकाले पनि किसानहरु बढीजसो ढिके नुन नै खरिद गर्ने गरेको केआइसिंह गाउँपालिका–५ का स्थानीयवासी जहरसिंह खवासले बताउनुभयो ।

 जिल्ला अस्पताल डोटीका अध्यक्ष यज्ञराज जोशीले गाउँमा आयोडिनयुक्त नुन प्रयोग गराउन आफूहरुले विभिन्न जनचेतनामूलक कार्यक्रम गरेपनि अझै व्यापक प्रयोग नभएको बताउनुभयो । 

कोरोना देखिएपछि वडा कार्यालय र सहकारी बन्द
जिल्लाको जोरायल गाउँपालिका ३ को कार्यालय अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ । वडाअध्यक्ष दिनेशकुमार मल्लले एक सूचना प्रकाशित गरी सो वडाको रावतकट्टेको बस्तीमा कोरोना देखिएको भन्दै समुदायमा थप संक्रमण फैलन नदिन आ–आफ्नो स्थानमा सुरक्षित बस्न आह्वान गर्नुभएको छ । 

सोही वडाको लक्ष्मी सरस्वती बहुद्देश्यीय सहकारी संस्था लिमिटेडका एक कर्मचारीमा पनि कोरोना सक्रमण देखिएपछि उक्त संस्था पनि पूर्णरुपमा बन्द गरिएको संस्थाका कार्यवाहक व्यवस्थापक विक्रम शाहले जानकारी दिनुभयो । जोरायल गाउँपालिकामा रहेको कृषि विकास बैंकले पनि नगद कारोबार नगर्ने भएको छ । 

प्रतिक्रिया दिनुहोस