भरतपुरका धुलाम्मे सडकहरु मोज्याक टायल र कालोपत्रेले टलक्क

सफल खबर संवाददाता

सोमबार, ०३ कार्तिक २०७७, १८ : ०३
भरतपुरका धुलाम्मे सडकहरु मोज्याक टायल र कालोपत्रेले टलक्क

चितवन । विगतमा भरतपुर महानगरका अधिकांश धुलाम्मे र हिलाम्मे भएका सडकहरु यतिबेला मोज्याक टायल र कालोपत्रेले टलक्क टल्केका छन् । भरतपुर महानगरका अधिकांश सडकहरु कालोपत्रेमा परिणत भइसकेका छन् । महानगरका भित्रीभित्रका पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने सडकहरुले पनि काँचुली फेरेका छन् ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल सोमबार एकै दिन ६ वटा मार्गको उद्घाटन कार्यक्रममा सहभागी भइन् । प्रमुख दाहालले कोभिड १९ का कहरमा पनि भरतपुर महानगरपालिका वडा नं १० मा निर्माण सम्पन्न भएका ६ वटा मार्गको आज उद्घाटन गरेकी थिइन् ।

प्रमुख दाहालबाट भरतपुर १० मा रहेका सैनिक पथ, त्रिवेणी पथ, युनिट पथ, ओमशान्ति मार्ग, एअरपोर्ट मार्ग र बोलबम अर्थात् कृषि सामग्री मार्गको उद्घाटन भएको थियो । उद्घाटन कार्यक्रममा प्रमुख दाहालले विगतमा भरतपुर मुख्य बजार क्षेत्र पनि धुलाम्मे हुन्थे, पानी पर्दा हिलाम्मे हुन्थे तर अहिले यो समस्या हटेको छ, भरतपुर महानगरभित्रको दुरदराजमा पनि कालोपत्रे पुगेको छ ।’

भरतपुर महानगरपालिकाका प्रवक्ता अरुण पीडित भण्डारीले भरतपुर १० भित्र आज उद्घाटन भएका सडकका साढे दुई किलोमिटरमा मोज्याक टायल लगाइएको र साढे पाँच किलोमिटरमा उच्चस्तरीय टल्कने कालोपत्रे गरिएको जानकारी दिए । उनले भने, ‘महानगरको स्रोतबाट डेढ करोडको बजेटमा ६ वटा सडक निर्माण पूरा भएका हुन्, जसमा स्थानीयको पनि श्रम, स्रोत साधन लगाइएको छ ।’

प्रवक्ता भण्डारीका अनुसार ओमशान्ति मार्ग, एअरपोर्ट मार्ग र बोलबम मार्गमा मोज्याक टायल लगाइएको र सैनिक पथ, त्रिवेणी पथ र युनिक पथमा उच्चस्तरीय कालोपत्रे गरिएको हो ।

कालोपत्रे उद्घाटन कार्यक्रममा महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाह, प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी, महानगरका प्रवक्ता अरुण पीडित भण्डारी, स्थानीय, वडा प्रतिनिधिहरुलगायतको उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रममा प्रमुख दाहालले लकडाउनको बेला होस्, या निषेधाज्ञाको बेला होस् कुनै समय पनि भरतपुर महानगरपालिकामा सडक विस्तारको अभियान नरोकिएको प्रमुख रेनु दाहालको भनाइ छ । प्रमुख दाहालले भनिन्, ‘अहिले पनि भरतपुर बाइपास सडकलगायत ठूलठूला सडकका आयोजनाका कामहरु धमाधम भइरहेका छन् ।

भरतपुर महानगरका अधिकांश भित्री तथा महत्वपूर्ण सडकहरु धमाधम कालोपत्रे पूरा भएका छन् । प्रमुख दाहालले आफ्नो कार्यकालभरि महानगरका कुनै पनि सडक कच्ची नहुने प्रतिबद्धतासमेत जनाइन् ।

तीन वर्षमा ३७५ किलोमिटर सडक उच्चस्तरीय कालोपत्रे भइसकेको बताइन् । उनले भनिन्, ‘हामी निर्वाचित भएर आएको अवधि ३ वर्ष पूरा भएको छ, अब बाँकी रहेको दुई वर्षमा महानगरका सबै सडकहरु कालोपत्रे भइसक्नेछन् ।’  

महानगरपालिका, सांसद विकास कोष, शहरी विकास मन्त्रालय र सडक डिभिजन कार्यालयले महानगरभित्रका सडक निर्माणको लागि बजेट विनियोजन गरेका छन् । भरतपुर–रामपुर–चनौली–मेघौली सडक गत वर्ष नै कालोपत्रे भइसकेको छ । सो सडकमा ढललगायतका बाँकी केही काम अहिले पनि भइरहेको भरतपुर महानगरले जनाएको छ ।

भरतपुरको चौबीसकोठीबाट गितानगर, पटिहानी, जगतपुर, माडी र ठोरी जाने हुलाकी सडकसमेत कालोपत्रे भएको छ । पकडी बजारदेखि भरतपुरको अन्तिम सीमाविन्दु कसरा पुलसम्म सडक कालोपत्रे भइसकेको छ । महानगरका अनुसार तीन वर्षका अवधिमा भित्रभित्रका सडकहरु कालोपत्रे भएका छन्, ३०० किलोमिटर उच्चस्तरको ग्राबेल भएका छन्, १६ किलोमिटर मोज्याक टायल लगाइएको छ, ३४ किलोमिटर नयाँ ढलहरु बनेका छन् ।

भरतपुर महानगरका १, २, ३, १०, ११, १२, ९, ७ नम्बर वडामा सडकपेटी बनाइएको छ । महानगरको महत्वकांक्षी योजनाका रुपमा रहेको रिङरोड १०५ किलोमिटरमध्ये १० किलोमिटर सडकखण्ड डीपीआरसँगै निर्माणको काम धमाधम अघि बढिरहेको छ । रिङरोडलाई जोड्ने १५ वटा लिंकरोडको काम पनि  अघि बढेको महानगरको भनाइ छ ।

सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभाग, चितवन डिभिजन कार्यालयमातहत १२ वटा सडक निर्माण तथा स्तरोन्नतिको काम भइरहेको छ । पश्चिम चितवनको मंगलपुरबाट दक्षिणहुँदै महेन्द्रचोक, शिवनगर, पार्वतीपुर, शुक्रनगरबाट मेघौली नजिकको तेलौली निस्कने झन्डै २१ किलोमिटर सडकको काम अघि बढिरहेको छ । महानगरपालिकामा पहिलोपटक साइकल लेनसहितको स्मार्ट सडक निर्माणको काम अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस