तिहारपछि कोरोनाको दोस्रो लहर, नाइटबसमा दशैँ मान्न गाउँ जानेहरु सावधान

पत्रपत्रिकाबाट

आइतबार, ०२ कार्तिक २०७७, ०८ : १७
तिहारपछि कोरोनाको दोस्रो लहर, नाइटबसमा दशैँ मान्न गाउँ जानेहरु सावधान

काठमाडौं । विज्ञहरूले दसैंमा अत्यधिक आवतजावत हुने भएकाले काठमाडौं उपत्यकाबाट कोभिड–१९ संक्रमण देशभरि फैलिन सक्ने चेतावनी दिएका छन् । बस र साना गाडीमा कोचिएर यात्रा गर्ने भएकाले भाइरसको विस्तार धेरै हुने सम्भावना रहेको उनीहरूले बताएका हुन् । त्यसैले स्वास्थ्य सावधानी अपनाएर दसैंमा यात्रा गर्न विज्ञहरूले सुझाएका छन् ।

‘दसैं–तिहार मान्न काठमाडौं छोड्नेहरूको संख्या बढ्दो छ,’ त्रिवि शिक्षण अस्पतालका कोभिड व्यवस्थापन समितिका संयोजक एवं छाती रोग विशेषज्ञ डा सन्तकुमार दासले भने, ‘यसरी उपत्यका बाहिरका गाउँ र सहरमा कोभिड भाइरस पुग्छ ।’ हटस्पटको रूपमा देखिएका उपत्यकाबाट घर जानेहरूबाटै संक्रमण नदेखिएका नयाँ ठाउँमा द्रुत गतिले संक्रमण सर्ने देखिन्छ । उनले खासगरी रात्रिबसमा झ्यालढोका बन्द हुने भएकाले हावा ओहोरदोहोर नहुँदा संक्रमणको विस्तार सजिलै हुने बताए । अझ रात्रिबसमा सुत्दा मास्क नलगाए र एसी बस भए झन् बढी संक्रमणको सम्भावना हुने उनको भनाइ छ ।

माइक्रो बसलगायत साना गाडीहरूमा समूहमा टाढा–टाढाको यात्रा गर्नु संक्रमणको दृष्टिकोणले झन् जोखिमपूर्ण भएको डा। दासले बताए । ‘एक जनाले रात्रिबसमा भएका ९० प्रतिशतसम्म व्यक्तिमा कोभिड सार्न सक्छ,’ उनले भने, ‘यो भाइरस १५ मिनेटभन्दा बढीको निकट सम्पर्कमा रहँदा सर्ने सम्भावना बढीहुन्छ, त्यसमा पनि झ्यालढोका थुनिएको बसमा त घण्टौं बस्नुपर्ने भएकाले एक जना संक्रमित नै भाइरस सार्न काफी छ ।’

दसैं मनाउन घर जाँदा काठमाडौं उपत्यकामा स्वाभाविक जनसंख्या घट्ने भएकाले संक्रमणको विस्तारमा केही कमी हुन सक्ने सम्भावना भए पनि पुनः तिहारपछि संक्रमणको दोस्रो लहर आउने विज्ञहरूको विश्लेषण छ । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस