दशैंमा कोरोना संक्रमणबाट यसरी जोगिऔं...

आइतबार, ०२ कार्तिक २०७७, ०८ : ०१
दशैंमा कोरोना संक्रमणबाट यसरी जोगिऔं...

काठमाडौँ । विज्ञहरूले दसैंमा अत्यधिक आवतजावत हुने भएकाले काठमाडौं उपत्यकाबाट कोभिड–१९ संक्रमण देशभरि फैलिन सक्ने चेतावनी दिएका छन् । बस र साना गाडीमा कोचिएर यात्रा गर्ने भएकाले भाइरसको विस्तार धेरै हुने सम्भावना रहेको उनीहरूले बताएका हुन् । त्यसैले स्वास्थ्य सावधानी अपनाएर दसैंमा यात्रा गर्न विज्ञहरूले सुझाएका छन् । 

‘दसैं–तिहार मान्न काठमाडौं छोड्नेहरूको संख्या बढ्दो छ,’ त्रिवि शिक्षण अस्पतालका कोभिड व्यवस्थापन समितिका संयोजक एवं छाती रोग विशेषज्ञ डा। सन्तकुमार दासले भने, ‘यसरी उपत्यका बाहिरका गाउँ र सहरमा कोभिड भाइरस पुग्छ ।’ हटस्पटको रूपमा देखिएका उपत्यकाबाट घर जानेहरूबाटै संक्रमण नदेखिएका नयाँ ठाउँमा द्रुत गतिले संक्रमण सर्ने देखिन्छ । उनले खासगरी रात्रिबसमा झ्यालढोका बन्द हुने भएकाले हावा ओहोरदोहोर नहुँदा संक्रमणको विस्तार सजिलै हुने बताए । अझ रात्रिबसमा सुत्दा मास्क नलगाए र एसी बस भए झन् बढी संक्रमणको सम्भावना हुने उनको भनाइ छ ।

माइक्रो बसलगायत साना गाडीहरूमा समूहमा टाढा–टाढाको यात्रा गर्नु संक्रमणको दृष्टिकोणले झन् जोखिमपूर्ण भएको डा। दासले बताए । ‘एक जनाले रात्रिबसमा भएका ९० प्रतिशतसम्म व्यक्तिमा कोभिड सार्न सक्छ,’ उनले भने, ‘यो भाइरस १५ मिनेटभन्दा बढीको निकट सम्पर्कमा रहँदा सर्ने सम्भावना बढी हुन्छ, त्यसमा पनि झ्यालढोका थुनिएको बसमा त घण्टौं बस्नुपर्ने भएकाले एक जना संक्रमित नै भाइरस सार्न काफी छ ।’

दसैं मनाउन घर जाँदा काठमाडौं उपत्यकामा स्वाभाविक जनसंख्या घट्ने भएकाले संक्रमणको विस्तारमा केही कमी हुन सक्ने सम्भावना भए पनि पुनः तिहारपछि संक्रमणको दोस्रो लहर आउने विज्ञहरूको विश्लेषण छ । हाल उपत्यका र प्रदेश १ बाहेक अरू प्रदेशमा कोरोना संक्रमण भयावह रूपमा देखिएको छैन । दसैं–तिहारपछि उपत्यका फर्किनेहरूको लर्को लाग्ने समय राजधानीमा जाडो सुरु भइसक्छ । हाल युरोपेली मुलुकमा जाडो सुरु हुनासाथ कोभिड संक्रमणको नयाँ उचाइ ९पिक० देखिएको छ । ‘तिहारपछि देखिने कोभिड संक्रमणको ‘पिक’ जाडोसम्म जान्छ,’ डा। दासले भने ।

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सल्टेन्ट डा। अनुप बाँस्तोलाले दसैं–तिहारपछि कोभिडको अर्को तरंग उपत्यकामा आउन सक्ने जनाउँदै सावधानी अपनाउनुपर्ने बताए । ‘जाडोमा भाइरस बढी सक्रिय हुन्छ, यसैले सबैलाई जहाँ हुनुहुन्छ त्यहीं सुरक्षित रहेर दसैं मनाउन भनेका छौं तर उपत्यका छोड्नेहरू दिनहुँ बढ्दै छन्,’ उनले भने । वरिष्ठ जनस्वास्थ्यविद् डा। शरद वन्तले यस पटक सकेसम्म दसैं–तिहारमा यात्रा नगर्न आग्रह गरे । ‘यस पटकको दसैं भौतिक रूपमा भन्दा पनि भावनात्मक रूपमा मनाऔं, सम्झौता गरौं, स्थिति जटिल छ । पोहोरजस्तै सबै कुरा नखोजौं । जहाँ छौं त्यहीं दसैं मनाऔं,’ उनले भने । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस