विपन्न परिवारलाई खाद्यान्न वितरण

सफल खबर संवाददाता

शनिबार, ०१ कार्तिक २०७७, १४ : ४४
विपन्न परिवारलाई खाद्यान्न वितरण

चितवन । लियो क्लब अफ भरतपुर युथले भरतपुर महानगरपालिका १४ का विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । 

शनिबार एक कार्यक्रमकाबीच क्लबले शिवनगरका २० विपन्न परिवारलाई प्रति परिवार एक बोरा चामलसहित तेल, नुन, मसला, दाल सहयोग गरेको हो । क्लबले आर्थिक अवस्था निकै दयनीय भएको र घर पनि जीर्ण रहेको स्थानीय लाममाया गुर्सिनीको घर मर्मत, सरसफाई तथा रङ्गरोगन पनि गरेको छ ।  

प्रमुख अतिथि भरतपुर १४ की कार्यवाहक वडाध्यक्ष सरस्वती पौडेल भण्डारीले आफ्नो वडामा आएर लियो क्लवले खद्याान्न वितरण गरेकोमा खुसी व्यक्त गरिन् । 

लायन्स क्लब अफ भरतपुर युथका अध्यक्ष सुरज पाठकले कोरोना माहामारीका बेला स्वास्थ्यको प्रवाह नगरी लियो क्लवका भाइबहिनीहरुले सामाजिक काम गर्नु निकै प्रसंशनीय भएको बताए । 

लियो क्लव अफ भरतपुर युथका अध्यक्ष एवं कार्यक्रमका सभापति दिपेश ज्ञवालीले आफूहरुले खाद्यान्न वितरण अभियान अन्तर्गत प्रत्येक हप्ता विपन्न वर्गलाई सहयोग गर्दै आएको जानकारी गराए । यसअघि पहिलो चरणमा नारायणगढ र दोस्रो चरणमा माडीमा खद्यान्न वितरण गरेको बताउँदै उनले यस अभियानलाई निरन्तरता दिने बताए ।  

कार्यक्रमकी संयोजक अन्जना जोशीले शिवनगरमा विपन्नहरुको पहिचान गर्न सहयोग पु¥याउने वडा कार्यालय, स्थानीयहरुलाई धन्यवाद दिँदै कार्यक्रमका लागि सहयोग गर्ने दाताहरु प्रति आभार प्रकट गरिन् ।

प्रतिक्रिया दिनुहोस