भारतमा सक्रिय सङ्क्रमित संख्या आठ लाख भन्दा कम, ६५ हजार थपिए

एजेन्सी

शनिबार, ०१ कार्तिक २०७७, १३ : ४७
भारतमा सक्रिय सङ्क्रमित संख्या आठ लाख भन्दा कम, ६५ हजार थपिए

नयाँदिल्ली । भारतमा अझै पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या अहिले आठ लाखभन्दा कम भएको छ । पहिला पहिला नौ, दश लाख सङ्क्रमितहरु रहने गरेकोमा अहिले घटेर आठ लाखभन्दा कम भएको अधिकारीहरुले जनाएका छन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार पछिल्लो ४५ दिनयता सङ्क्रमित अवस्थामै रहेकाहरुको यो सङ्ख्या अहिलेसम्मकै कम हो । भारतमा सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या पछिल्लो समयमा लगातार बढ्दै गएकोमा अहिले आठ लाखभन्दा कम भएको हो, मन्त्रालयले सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छ ।

मन्त्रालयका अनुसार अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या सात लाख ९५ हजार ५३ रहेको छ ।ती मध्ये ६६ हजार भन्दा बढी पछिल्लो २४ घण्टामा सङ्क्रमण पुष्टि भएका हुन् । योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या ७४ लाख ३२ हजार ६८१ पुगेको छ ।

भारतमा कोरोनाका कारण अहिलेसम्म कुल एक लाख १२ हजार ९९८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । ती मध्ये ८३७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ । कोरोनाबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेकाहरुको सङ्ख्या भने भारतमा अहिलेसम्म ६५ लाख २४ हजार ५९५ रहेको छ । (रासस/एएनआई)