CG Landmark

बडादसैं सुरु : आज घटस्थापना, वैदिक विधिपूर्वक शक्तिकी देवी  दुर्गाको  पूजारम्भ

सफल खबर संवाददाता

शनिबार, ०१ कार्तिक २०७७, ०७ : ५७
बडादसैं सुरु : आज घटस्थापना, वैदिक विधिपूर्वक शक्तिकी देवी  दुर्गाको  पूजारम्भ

काठमाडौँ । प्रत्येक वर्ष असोज शुक्ल प्रतिपदादेखि सुरु हुने बडादसैं आजदेखि सुरु भएको छ ।  असोज शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादसैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैंघरमा वैदिक विधिपूर्वक शक्तिकी देवी मानिने दुर्गाको आह्वान गरी पूजारम्भ हुन्छ ।

नवरात्रको पहिलो दिन आज बिहानै नित्य कर्म समाप्त गरी नजीकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैंघरमा विधिपूर्पक राखेर त्यसमाथि यव(जौ)रोपिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।

Yeti Diistillery Tansen Cement box

जमरा राख्ने कार्यमा जौबाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा‍। डा। रामचन्द्र गौतमले बताए। कुल परम्परानुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधिका रुपमा समेत प्रयोग गरिन्छ ।

विधिपूर्वक घट अर्थात् घडा राखी त्यसमाथि शक्तिस्वरुपा दुर्गाको पूजाराधना गरिने आजको दिन स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा देवीको प्रसाद ग्रहण गरिन्छ ।घटस्थापनाको साइत आज बिहान ११ ः ४६ बजे रहेको समितिले जनाएको छ । आज दिनभर चित्रा नक्षत्र परेकाले शास्त्रीय वचनानुसार मध्याह्नकालमा अभिजित् मुहूर्तको साइत घटस्थापनाका लागि दिइएको अध्यक्ष गौतमले बताए । दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजाराधना गरिन्छ ।

महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रुपमा पूजाराधना गर्ने वैदिककालदेखिको परम्परा छ । यस पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाराधना गर्ने गरिन्छ । दुर्गाका यी नौ रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।

यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजाराधना एवं दर्शन गर्ने भक्तजनको भीडसमेत लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको संक्रमणका कारण सबैजसो मन्दिर बन्द छन् । शक्तिपीठमा नित्य पूजा भने गरिने जनाइएको छ ।

टीकाको साइत कात्तिक १० गते १० : १९ बजे
दसैं नौ रात र दस दिनको हुन्छ । आज विधिपूर्वक घरघरमा आह्वान गरी पूजााराधना गरिने देवीलाई कात्तिक १० गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूलप्रसाद ग्रहण गरिन्छ ।

प्रतिक्रिया दिनुहोस