झापा । झापामा कोभिड–१९ को सङ्क्रमणबाट थप एकको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका–१ का ५१ वर्षीय पुरुष छन् । स्वास्थ्य कार्यालय झापाका कोभिड–१९ फोकल पर्सन जीवन चौलागाईँका अनुसार उनको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा बिहीबार राति निधन भएको हो ।
कोरोना भाइरसको लक्षण देखिएपछि परीक्षणका क्रममा असोज २७ गते उनमा कोरोना पोजिटिभ देखिएको उनले बताए । “सास फेर्न गाह्रो भएपछि बिएण्डसीमा उपचारका लागि राखिएको थियो”, उनले भने, “उपचारकै क्रममा हिजो (बिहीबार) राति निधन भएको हो ।” यससँगै झापामा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ ।
यता झापामा आज ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नौ स्थानीय तहका आठ महिला र २२ पुरुषमा कोरोना पुष्टि भएको चौलागाईंले बताए । भद्रपुरमा सात, बिर्तामोडमा नौ, अर्जुनधारामा तीन, कनकाई, कमल र शिवसताक्षीमा एकएक, दमकमा चार तथा बुद्धशान्ति र गौरादहमा दुईदुई जनामा कोरोना पुष्टि भएको हो ।
यससँगै झापामा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार २५० पुगेको छ । निको हुनेको सङ्ख्या ९१६ छ । जिल्लामा ३२१ सक्रिय सङ्क्रमित छन् । जिल्लामा हालसम्म २८ हजार ४६३ जनाको पिसिआर परीक्षण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ३० असोज २०७७, २१ : ०२
लेखकबाट थप