कोरोना सङ्क्रमितलाई पनि लोकसेवाको परीक्षामा सहभागी गराउन आदेश

सफल खबर संवाददाता

विहीबार, २९ असोज २०७७, १८ : ००
कोरोना सङ्क्रमितलाई पनि लोकसेवाको परीक्षामा सहभागी गराउन आदेश

काठमाडौँ ।  सर्वोच्च अदालतले कोरोना संक्रमितलाई पनि लोकसेवा आयोगको परीक्षामा सहभागी गराउन अन्तरिम आदेश दिएको छ । न्यायाशीश सपना प्रधान मल्लको एकल इजलाशले बिहीबार शैलेन्द्रप्रसाद अम्बेडकरसमेतले दिएको निवेदनमाथि उक्त आदेश दिएको हो। 

आयोगले हालै जारी गरेको ‘संक्रमणको विशेष अवस्थामा परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७’ को बुँदा ८ को १ ले परीक्षार्थीले आफू कोरोना संक्रमित भए र नभएको स्वंय घोषणा गर्नुपर्ने र संक्रमित भए परीक्षा केन्द्रमा जान हुने छैन भन्ने उल्लेख गरेको थियो।

कोरोना महामारीका बेला आयोगबाट यस्तो मापदण्ड लागू भएपछि कोरोना संक्रमण भएका धेरै मानिस प्रतिस्पर्धाबाट छुट्ने भन्दै विरोध भइरहेको छ।महामारीको अवस्थामा थुप्रै परीक्षार्थी प्रतिस्पर्धाबाट बञ्चित हुने हुँदा संविधानको धारा १८, २१, २३ र ३३ विपरीत भएको उक्त मापदण्डको ८ ९१० बदर गरी कोरोना संक्रमित परीक्षार्थीलाई परीक्षा केन्द्रको पृथक स्थानमा राखेर सुरक्षित तरिकाले जाँच लिने व्यवस्था गर्न अन्तरिम आदेश जारी गरिपाउँ भन्दै शैलेन्द्रप्रसाद लगायतले मागदाबी गर्दै रिट दिएका थिए।

सर्वोच्चले यसमा के कसो भएको हो १५ दिनभित्र लिखित जवाफ दिन आयोगलाई भनेको छ।

प्रतिक्रिया दिनुहोस