झलनाथ खनाल फाउन्डेसनद्वारा सरकारी रकम दुरुपयोग

पत्रपत्रिकाबाट

विहीबार, २९ असोज २०७७, ०७ : ५३
झलनाथ खनाल फाउन्डेसनद्वारा सरकारी रकम दुरुपयोग

काठमाडौं । झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको एन्टिभेनम उत्पादन तथा अनुसन्धान केन्द्रले सरकारी रकमको दुरुपयोग गरेको छ। सो परियोजनाका लागि दिइएको ठूलो परिमाणको रकम एन्टिभेनम उत्पादनमा परिचालन गर्नुको सट्टा विलासी वस्तु खरिदमा खर्च भएको पाइएको छ ।

प्राप्त कागजातअनुसार ठुलो परिमाणको रकम मोटरसाइकल, सवारीसाधन, मोबाइल, विद्युतीय सामग्री खरिदलगायतमा दुरुपयोग भएको पाइएको नागरिक दैनिकमा खबर छ ।संस्थाले ४९ लाख रुपैयाँबराबरका सवारीसाधन खरिद गरिसकेको छ।

त्यस्तै संस्थाले विद्युतीय सामग्री खरिदमा १४ लाख, कार्यालय सामग्रीका लागि १३ लाख र सवारीसाधान भाडा र इन्धनबापत १० लाख रुपैयाँ खर्च गरिसकेको छ। सर्लाहीको लालबन्दी नगरपालिकाबाट १७ करोड ८० लाख रुपैयाँ प्राप्त गरेको संस्थाले विलासी सामग्री र प्रशासनिक गतिविधिमा ठूलो रकम खर्च गरेको छ।

केन्द्रले ३ लाख ४२ हजार ९० रुपैयाँ सवारीसाधान मर्मतमा खर्च गरेको छ। त्यस्तै ३१ हजार ७८ रुपैयाँ मोबाइल फोनमा, तीन लाख ६० हजार चार सय ९८ रुपैयाँ एसी खरिद र तीन लाख १२ हजार रुपैयाँ क्यामरा खरिदमा खर्च गरेको छ। केन्द्रले फर्निचर खरिद र कार्यालय सजावटमा पनि ठूलो रकम खर्च गरेको छ। फर्निचर खरिद र कार्यालय सजावटमा १९ लाख रुपैयाँ खर्च गरिएको छ।

प्रतिक्रिया दिनुहोस