कोरोनाले काभ्रेमा थप एकको मृत्यु

रासस

बुधबार, २८ असोज २०७७, १९ : ३६
कोरोनाले काभ्रेमा थप एकको मृत्यु

काठमाडौं । कोरोना सङ्क्रमणका कारण काभे्रे बेथानचोक गाउँपालिकाका एक वृद्धाको आज मृत्यु भएको छ । ती ७५ वर्षीया  वृद्धाको वनेपास्थित शिर मेमोरिय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ । योसँगै काभ्रेमा हालसम्म पाँच पुरुष र पाँच महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । 

जिल्लामा कोरोना भाइरस् सङ्क्रमितको सङ्ख्या दैनिक ४० को हाराहारिमा पुगेको छ । आज जिल्लामा ४० सङ्क्रमित थपिएका छन् । पोष्टका अनुसार मङ्गलबार ५८ थिए भने सोमबार ४३ मा कोरोना सङ्क्रमण देखियो । आजसम्म सङ्क्रमितको सङ्ख्या एक हजार १३६ पुगेको छ जसमध्ये ४२३ महिला र ६९२ पुरुष सङ्क्रमित हुन् । कूल सक्रिय सङ्क्रमितमध्ये ३५ प्रतिशत वनेपा नगरभित्र मात्रै छन् ।

नगरमा आज सात पुरुष र चार महिला थपिएपछि ७१ महिला र ९९ पुरुष सङ्क्रमित छन् । यस्तै, कुल सक्रिय सङ्क्रमितमध्ये आजसम्म धुलिखेलमा ३३ प्रतिशत अर्थात् १६१ छन् । पनौतीमा ४४, पाँचखालमा ३१, नमोबुद्धमा ३४, मण्डनदेउपुरमा १४, भुम्लु गाउँपालिकमा तीन, रोशीमा ११, महाभारत गाउँपालिकामा तीन सङ्क्रमित छन् । 

काभ्रेको १३ मध्ये तीन गाउँपालिका कोरोनामुक्त छन् । बेथानचोक, तेमाल र खानीखोला गाउँपालिका कोरोना मुक्त भएका हुन् । सबैभन्दा कम चौंरीदेउराली गाउँपालिकामा एक जना पुरुष रहेका छन् । 

जिल्लामा महिलाभन्दा तेब्बर सङ्ख्या हाराहारिमा पुरुषमा कोरोना सङ्क्रमण देखिँदै आएको छ । कुल सङ्क्रमितमध्ये ६१ प्रतिशत पुरुषमा सङ्क्रमण देखिएको पोष्टले जनाएको छ । सङ्क्रमितमध्ये २१७ महिला तथा ४१२ पुरुषमा सङ्क्रमण निको भैसकेको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा.नरेन्द्र झाले जानकारी दिनुभयो । उहाँका अनुसार कुल सङ्क्रमितमध्ये हालसम्म ५४ प्रतिशत अर्थात् ५९३ जना उपचारपछि निको भई घर फर्किएका छन् । अधिकांश सङ्क्रमित ४५ वर्ष नाघेका रहेको तथ्याङ्कले देखाएको छ । 

“काभे्रमा केही दिनदेखि सरदर दैनिक ४० जनामा सङक्रमण देखिएको छ, त्यसमध्ये बनेपामा अधिक देखिन्छ”, डा.झाले भन्नुभयो । पोष्टका अनुसार हाल सक्रिय सङ्क्रमितमध्ये ३५ महिला र ८८ पुरुष अस्पताल आइसोलेशन र १५९ महिला र २१५ पुरुष होम आइसोलेशनमा उपचाररत छन् । यसैबीच, नेपाल नगरपालिका सङ्घका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोककुमार ब्याञ्जूलाई कोरोना सङ्क्रमण भएको छ ।

नगर स्वास्थ्य शाखा संयोजक सन्दिप केसीका अनुसार जनस्वास्थ्य प्रयोगशाला धुलिखेलमा गरिएको पिसिआर परीक्षणमा ब्याञ्जूलाई आज कोरोना सङ्क्रमण पुष्टी भएको हो । उहाँले आज सामाजिक सञ्जालमार्फत आफुसहित परिवारका सदस्यलाई कोरोना सङ्क्रमण पुष्टी भएकोसमेत जानकारी गराउनुभएको छ । 

ब्याञ्जूलगायत धुलिखेल नगर कार्यालयका कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आजैदेखि नगरको अत्यावश्यकबाहेक आउँदो ५ गतेसम्म अन्य सेवा बन्द गरिएको छ । साथै, नगरद्वारा जारी सूचनामा नगरका केही जनप्रतिनिधि तथा कार्यालयका कर्मचारीमा कोरोना सङ्क्रमण देखिएकाले उनीहरुको सम्पर्कमा आएकाको स्वाब सङ्कलन गरी नतिजा नआएसम्मका लागि वडा कार्यालयबाटसमेत प्रदान गरिने सेवा एक हप्ताका लागि बन्द गरिएको जनाइएको छ ।