आजदेखि खाली सिलिण्डरको मूल्य लागु

रासस

बुधबार, २८ असोज २०७७, १९ : २०
आजदेखि खाली सिलिण्डरको मूल्य लागु

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले खाना पकाउने एलपी ग्यासमा प्रयोग हुने फलामे खाली सिलिण्डरको मूल्य तोकेको छ । दुर्गम बाहेकका जिल्लामा ग्यास सिलिण्डरको मूल्यमा एकरुपता ल्याउन तोकिएको नयाँ मूल्य रु दुई हजार एक सय आजबाट लागु भएको छ ।

यसअघि संघले ग्यास बिक्रेताले फरक÷फरक मूल्यमा खाली सिलिण्डरको मूल्य लिएको भन्दै पहिलो चरणमा वाग्मती प्रदेशभित्र सञ्चालनमा रहेका २९ उद्योगका सिलिण्डरको मूल्य तोकेको थियो । आजबाट लागू हुने गरी दुर्गम बाहेकका जिल्लाका लागि खाली सिलिण्डरको मूल्य लागु गरिएको संघका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार उद्योगले खरिद गरेको मूल्य भन्दा कम मूल्यमा बिक्री गरिएतापनि ग्यासका डिलर अनुसार मूल्य फरक÷फरक रहेपछि मूल्य तोकिएको हो । नयाँ सिलिन्डरको उपभोक्ता धरौटी रसिद नभएका सिलिन्डरको दायित्व ग्यास उद्योगले नलिने संघले जनाएको छ ।

संघले सिलिण्डर खरिद गर्दा अनिवार्य रुपमा सम्बन्धित उद्योगको धरौटी रसिद बिक्रेता (डिलर) मार्फत लिन समेत अुनरोध गरेको छ । रसिद नलिएका सिलिण्डरको दायित्व उद्योगले नलिने समेत जनाइएको छ ।  

संघले तोकेको नयाँ मूल्य अुनसार एक सय रुपैयाँ बिक्रेताका लागि छुट्टाइएको छ । संघले आफ्नो कम्पनीबाहेक अरु कम्पनीको खाली सिलिन्डर साट्नु गैरकानूनी भएको भन्दै साटेको थाहा भएमा कारवाही गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस