कृषि तथा वनविज्ञान विश्वविद्यालयमा ‘हल्ट प्राइज’ प्रतियोगिता हुने

सफल खबर संवाददाता

मंगलबार, २७ असोज २०७७, १३ : ३५
कृषि तथा वनविज्ञान विश्वविद्यालयमा ‘हल्ट प्राइज’ प्रतियोगिता हुने

चितवन । कृषि तथा वनविज्ञान विश्वविद्यालयमा अन्तर्राष्ट्रिय वार्षिक व्यापार उद्यमशिलता चुनौती ‘हल्ट प्राइज २०२० र २१’ आयोजना हुने भएको छ । पुस २१ गते सो कार्यक्रम हुन लागेको हो ।

यो प्रतिस्पर्धालाई विद्यार्थीहरूका लागि ‘नोबेल पुरस्कार’ भनेर चिनिन्छ, जसको विजेताहरुका लागि एक मिलियन अमेरिकी डलर पुरस्कार रहेको छ ।

के हो त हल्ट प्राइज ?
हल्ट प्राइज ऊर्जावान विद्यार्थीहरुको लागि एक अवसर हो, जो एक उद्यमी, व्यापारी हुन कोसिस गर्दछन् । समाजमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति अहिलेसम्म शिक्षा, बिजुली, पानी, खाद्य सुरक्षा र यस्तै अन्य किसिमका चुनौतीहरूका लागि अमेरिकाका ४२ औं राष्ट्रपति बिल क्लिन्टनले छनौट गरेका छन् । उनले हरेक वर्ष यस्तै समाजलाई सकारात्मक परिवर्तन ल्याउने खालका विषय रोज्ने गरेका छन् । हरेक वर्ष चुनौतीहरु सयुक्त राष्ट्र संघका दिगो विकासका लक्ष्यहरु रहेर घोषणा गरिन्छ ।

हल्ट पुरस्कार एक अन्तर्राष्ट्रिय खुला प्लेटफर्म पनि हो जसले विद्यार्थीलाई नेटवर्क र उद्यमशिलता अगाडि बढाउन अवसर दिन्छ । यो प्रतिस्पर्धाका विजेता विद्यार्थीहरूका लागि एक मिलियन अमेरिकी डलर पुरस्कार रहेको छ । यो युवाहरुको सञ्जाल हो जसले युवापुस्तालाई समाज र विश्व परिवर्तन गर्न उत्प्रेरित गर्छ । यो विद्यार्थीको लागि संसारकै ठूलो प्रतिस्पर्धा हो ।

कसरी र कस्तो विषय हुनेछ ?
हरेक वर्ष हल्ट प्राइज फाउन्डेसनले ‘दिगो विकास लक्ष्य’ मा रहेर सामाजिक उद्यमशिलतालाई प्रोत्साहन गर्दै ‘चुनौती र विषय’ घोषणा गर्दछ र उक्त विषयभित्र रहेर प्रतियोगीहरु आफ्नो व्यापार आइडियासहित प्रस्तुत हुनु पर्छ । यो वर्षको चुनौती र विषय घोषणा भइसकेको छ र प्रतियोगीहरुले सोही विषयमा आधारित भएर आफ्नो उद्धमशिलता विचार प्रस्तुत गर्नु पर्ने हुन्छ ।

प्रतियोगी कति हुनेगरेका छन्  ?
विश्वभरिबाट सहभागी हुने यस कार्यक्रममा १२१ देशका दुई हजार ५०० बढी विश्वविद्यालयबाट तीन लाख धेरै विद्यार्थीले सहभागिता जनाउने गरेका छन् ।

कसरी हुन्छ त कार्यक्रम  ?
यस कार्यक्रममा नेपालभरिका कृषि तथा वनविज्ञान विश्वविद्यालय अन्तर्गत पर्ने केन्द्रीय र सम्बन्धन प्राप्त क्याम्पसका स्नातक र स्नातकोत्तर अध्यनरत विद्यार्थीले भाग लिन पाउने छन् । प्रत्येक क्याम्पस अथवा विश्वविद्यालयहरुमा हुने प्रतियोगिता अथवा समाजिक आन्दोलनलाई ‘अन क्याम्पस प्रोग्राम’ को नाम दिएको छ । ‘अन क्याम्पस प्रोग्रामको’ विजेताले ‘रिजनलको’ लागि प्रतिस्पर्धा गर्ने छन् । 

प्रतिस्पर्धीहरुका लागि विभिन्न ट्रेनिङ, वर्कशप र सेमिनारहरु आयोजना गरिने जानकारी यस विश्वविद्यालयका हल्ट प्राइजका क्याम्पस निर्देशक सुजनजङ थापाले जानकारी दिएका छन् यो प्रतियोगितामा स्नातक र स्नातकोत्तर अध्ययनरत तीनदेखि चार जना विद्यार्थीहरुको समूहले भाग लिन सक्दछन्, चार भन्दा बढी विद्यार्थीहरूको समूह मान्य हुने छैन ।

उनले थप्दै भने, ‘ विश्वविद्यालयसँग सम्बन्धित सम्पूर्ण पदाधिकारी र सरोकारवालासँग भर्चुअल मिटिङ भइ यस हुन गइरहेको कार्यक्रमको प्रक्रिया र ढंगको बारेमा बहस भइसकेको छ ।’ 

भर्चुअल मिटिङ गरेर विश्वविद्यालयका विद्यार्थीलाई पनि केही समय अगाडि हल्ट प्राइज कृषि तथा वन विज्ञान विश्वविद्यालयले कार्यक्रम र प्रक्रियाका बारेमा जानकारी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस