सीमामा निगरानी

चीन र भारतीय सीमामा थपिए ५० बीओपी

पत्रपत्रिकाबाट

सोमबार, २६ असोज २०७७, ०८ : १०
चीन र भारतीय सीमामा थपिए ५० बीओपी

काठमाडौँ । सरकारले सामरिक सुरक्षा र व्यापारिक महत्त्वका दृष्टिले संवेदनशील मानिएका सीमा क्षेत्रमा सुरक्षा तैनाथी बढाउँदै लगेको छ । दार्चुलाको छाङरुदेखि नवलपरासीको सुस्ता हुँदै ताप्लेजुङको ओलाङचुङगोलासम्म २०७७ वैशाखयता मात्रै सशस्त्र प्रहरी बल (एपीएफ) का ५० वटा बोर्डर आउट पोस्ट ९बीओपी० स्थापना गरिएका छन् । 

चीनतर्फको सीमा क्षेत्रमा पछिल्लो ६ महिनामा ५ स्थानमा बीओपी राखिएको छ भने भारततर्फ ४५ वटा बीओपी थपिएको छ । यसअघि चीनतर्फ एउटा पनि बीओपी थिएन । सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीति तय गर्दै चीनतर्फ १५ र भारततर्फ ४ सय ८५ ठाउँमा बीओपी स्थापना गर्ने गरी काम अघि बढाएको छ । २०७६ चैतसम्म नेपाल–भारत सीमा क्षेत्रका १ सय २० स्थानमा मात्रै सशस्त्रका बीओपी तैनाथ थिए । चीनसँग नेपालका १५ जिल्लाको करिब १ हजार ४ सय १४ किमि र र भारतसँग २७ जिल्लाका करिब १ हजार ८ सय ८० किमि लामो सीमा जोडिन्छ ।

गत वर्ष नेपाली भूमि कालापानी क्षेत्र अतिक्रमण गर्दै भारतले आफ्नो नक्सामा समेटेपछि असन्तुष्ट बनेको सरकारले त्यसयता संवेदनशील सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थितिलाई सशक्त बनाउँदै लगेको हो । आन्तरिक सुरक्षामा समेत तैनाथ एपीएफलाई पछिल्लो समय सीमा सुरक्षामा केन्द्रित गराइएको छ । केही वर्षभित्रै बीओपीको संख्या बढाएर ५ सय पुर्‍याउन सरकारले सशस्त्रलाई स्वीकृति दिएको छ । बीओपीको संख्या प्रदेश १ मा ३४, प्रदेश २ मा ५६, वाग्मती प्रदेशमा ७, गण्डकीमा २, लुम्बिनी प्रदेशमा ३४ र सुदूरपश्चिम प्रदेशमा ३७ वटा पुगेका छन् ।

वैशाखपछि प्रदेश १ मा ८, प्रदेश २ मा ३, वाग्मतीमा २, लुम्बिनीमा ५ र सुदूरपश्चिममा २७ बीओपी थपिएका छन् । वैशाखअघि सुदूरपश्चिममा बीओपी १० मात्रै थिए ।  बीओपीका लागि करिब १० हजार जनशक्ति थप्न आवश्यक रहेको एक उच्च अधिकारीले बताए । हाल सशस्त्रमा करिब ३७ हजार जनशक्तिको दरबन्दी छ । भारतीय अतिक्रमणको चपेटामा परेको नवलपरासीको सुस्तामा बीओपी र दार्चुलाको कालापानी क्षेत्रबाट करिब १२ किमि नेपालतर्फ छाङरुमा सशस्त्रले गुल्म नै स्थापना गरिसकेको छ ।

गुल्म स्थापना गर्नुअघि छाङरुमा गत वैशाख अन्तिम साता बीओपी स्थापना गरिएको थियो । बीओपी स्थापना भएपछि असार ३ गते प्रधानसेनापति पूर्णचन्द्र थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालसहित छाङरु पुगेर ढुक्कले सीमा सुरक्षामा खटिन निर्देशन दिएका थिए । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस