धरापमा मुख्यमन्त्री शाहीको पद, अविश्वास प्रस्ताव दर्ता

सफल खबर संवाददाता

आइतबार, २५ असोज २०७७, १४ : ३६
धरापमा मुख्यमन्त्री शाहीको पद, अविश्वास प्रस्ताव दर्ता

फाइल फोटो

काठमाडौँ । कर्णाली प्रदेश सरकारविरुद्ध सत्तारुढ दलकै सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गराएका छन् । आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै प्रदेशसभासदले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

प्रदेश सांसद यमलाल कडेलसहितका १८ जना सांसदहरुले हस्ताक्षरसहित संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई हस्ताक्षर बुझाएका छन् । सचेतक शाहले अविश्वासको प्रस्तावको हस्ताक्षर आफूले बुझेको र छलफलपछि के गर्ने भन्नेबारे निर्णय लिइने बताए । हस्ताक्षर गर्नेमा पूर्वएमालेका १३ र पूर्वमाओवादीका ५ जना सांसद छन् ।

प्रमुख सचेतक शाहका अनुसार शाही नेतृत्वको सत्ताले केही पनि काम गर्न नसकेको भन्दै उनीबिरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको हो। उनी आफैँले समेत शाहीबिरुद्ध हस्ताक्षर गरेका छन्। ‘शाहीको कामकारबाहीमा चित्त नबुझेका कारण अविश्वास प्रस्ताव दर्ता गराएका हौँ,’ शाहले भने ।

नेकपाका ३३ जना सदस्यमध्ये १८ जना सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गराएका हुन् । प्रदेश सरकारकी उपसभामुख पुष्पा घर्तीमगर पनि अविश्वासको प्रस्तावमा हस्ताक्षर गराउनेमध्ये छिन् । 

स‌विधानअनुसार प्रदेशसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्यको एक चौथाइ सदस्यले मुख्यमन्त्रीमाथि प्रदेशसभाको विश्वास छैन भनी लिखित रुपमा अविश्वास प्रस्ताव दर्ता गराउन सक्ने व्यवस्था छ। कर्णाली प्रदेशसभामा नेकपाका ३३, कांग्रेसका ६ र राप्रपाका एक गरी ४० जना सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस