घरझगडामै अल्झिए ठूला दल, कोरोना संक्रमण भयावह

पत्रपत्रिकाबाट

शनिबार, २४ असोज २०७७, ०७ : ४६
घरझगडामै अल्झिए ठूला दल, कोरोना संक्रमण भयावह

काठमाडौं । सत्ताको बागडोर सम्हालेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस यति बेला घरझगडामै व्यस्त छन्। कोरोना महामारीबीच दुवै दल महाधिवेशनको तयारीमा लागेका छन्। नेकपाले आउँदो चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्ने मिति तय गरेको छ भने कांग्रेसले फागुनमा महाधिवेशन गर्ने भनेको छ। यसै मेलोमा दुई पार्टीका संस्थापन पक्षधर र संस्थापन इतरका नेताहरूबीच पदीय भागबन्डा र आन्तरिक किचलो बढिरहेको छ।

केन्द्रीय सत्ता सञ्चालन गरिरहेको नेकपाको वर्चस्व प्रदेश र स्थानीय तहको सत्तामा पनि छ । ६ वटा प्रदेश सरकार र चार सय दुई स्थानीय तह नेकपाले हाँकिरहेको छ। तीन तहमा सत्ताको नेतृत्व गरेको नेकपाका नेताहरू भने आन्तरिक कलहमा रुमलिएका छन्। केन्द्रीय नेतृत्वले कोरोना संक्रमणको सात महिना बित्दा पनि नेता–कार्यकर्तालाई जनचेतनाका कार्यक्रम दिएर पठाउन सकेको छैन। दुई पार्टी एकतापछि बनेको नेकपाले आफूसँग आठ लाख पार्टी सदस्य रहेको दाबी गरेको छ। नेकपा, कांग्रेसजस्ता पार्टीको संगठन गाउँ तहसम्म फैलिएको छ।

ठूलो संख्यामा संगठित कार्यकर्ता भएका यी पार्टीले अहिलेसम्म आफ्ना नेता–कार्यकर्तालाई संक्रमणप्रतिरोधी जनचेतनामा खटाएका छैनन्। सूचना, सञ्चार र प्रविधिको युगमा राजनीतिक दलहरूले डिजिटल माध्यमबाट समेत कोरोनाविरुद्ध सन्देश प्रचारप्रसार गर्न सकेनन्। निर्वाचनका बेला सबै दलले राष्ट्रिय मिडियामा ज्याकेट विज्ञापन दिने, विभिन्न सामग्री बनाएर डिजिटल माध्यमबाट प्रचार गर्ने, टिसर्ट बनाउने, ब्यानर–तुल टाँग्नेजस्ता कार्य गरेर सर्वसाधारणलाई आफ्नो पक्षमा मतदान गर्न प्रेरित गरेका थिए। तर अहिले कोरोना संक्रमणका लागि त्यस्ता प्रचार र सन्देशमूलक सामग्री आवश्यक पर्ने भए पनि राजनीतिक दलहरू कुना बसेर घरझगडामा रमाएका छन्।

राजनीतिक दलहरूले भूकम्प, महामारीजस्ता विपत्तिमा जनतासामु पुगेर मन जित्ने कोसिस गर्नुपर्छ। २०७२ सालको भूकम्पमा भने तत्कालीन एमाले, माओवादी र कांग्रेस तीनवटै दलका नेता–कार्यकर्ता उद्धार र राहतमा खटिएका थिए। दलका नेता–कार्यकर्ता त्यस बेला जनताको घरदैलोमै गएर उद्धार र राहतमा खटिएका दर्जनौं उदाहरण छन्। बाढीपहिरो तथा अन्य प्राकृतिक विपत्तिमा पनि राजनीतिक दलका नेता–कार्यकर्ता खटिएका थिए। तर कोरोना महामारीमा भने दलका नेता–कार्यकर्ता जनताका बीचमा जान सकेनन्। बरु नेकपाको आन्तरिक विवाद चर्कंदै जान थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता ढल्छ कि भनेर नेता–कार्यकर्ता सडकमा उत्रिए।

असार १४ गते मदन भण्डारीको जन्मजयन्ती मनाउने क्रममा प्रधानमन्त्री ओलीले आफ्नै पार्टीका नेताहरू भारतसँग मिलेर आफूलाई सरकारबाट हटाउन लागिपरेको अभिव्यक्ति दिए। जसका कारण असार १० गतेदेखि बसेको स्थायी कमिटी बैठकमा विवाद उत्पन्न भयो। विवादका कारण सरकार नै ढल्ने अवस्था आएपछि स्वतन्त्र युवाका नाममा सडकमा ओलीको पक्षमा नाराबाजी भयो। नेकपाभित्र एक नेताले अर्का नेताविरुद्ध आफूनिकटका कार्यकर्ता प्रदर्शनमा उतारेर कोरोनाको नियन्त्रणभन्दा जोखिम बढाउने काम भयो। तर संक्रमण नियन्त्रण गर्ने सवालमा नेकपाले कुनै कार्यक्रम ल्याएन र पार्टी कार्यकर्तालाई पनि परिचालन गर्न सकेन। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस