सर्वसाधारणको पहुँचबाहिर स्वास्थ्य सेवा, शल्यक्रियाका लागि दुई वर्षसम्म पर्खनुपर्ने

पत्रपत्रिकाबाट

विहीबार, २२ असोज २०७७, ०७ : ४५
सर्वसाधारणको पहुँचबाहिर स्वास्थ्य सेवा, शल्यक्रियाका लागि दुई वर्षसम्म पर्खनुपर्ने

काठमाडौं । बाजुराको जगन्नाथ गाउँपालिका–५ गोत्रीका ४३ वर्षीय नरजित शाही एक वर्षअघि पत्नी र पाँच छोराछोरी लिएर काठमाडौं आए। उनी गोकर्णको सुन्ताखानस्थित गाई फार्ममा काम गर्न आएका थिए। गाउँमा जति हाडछाला घोट्दा पनि गुजारा नचलेपछि एकजना हितैषीले उनलाई काठमाडौं ल्याएका थिए। उनी परिवारसहित आफ्नैजस्तो गरेर गाई फार्ममा घोटिन थाले। खानेबस्ने सुविधाबाहेक मासिक २० हजार रुपैयाँ पारिश्रमिक मिल्थ्यो।

२०७६ फागुन पहिलो सातातिर नरजितको कम्मर दुख्न थाल्यो। उनी महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा गए। अस्पतालले उनलाई नसामा समस्या रहेको बतायो र वैशाखमा आउन भन्यो। नरजित अलि दिन घरमै बसे। दुखाइ बढेपछि उनी फागुन अन्तिम साता काठमाडौं मेडिकल कलेज ९केएमसी० सिनामंगल गए। उपचार खर्च ३ लाख रुपैयाँ लाग्ने बताइयो। उनीसँग त्यति पैसा जुटाउने स्रोत थिएन।

चैत पहिलो साता राष्ट्रिय ट्रमा सेन्टर पुगे। नेपालमा कोरोना संक्रमण सुरु भइसकेकाले अस्पतालले उनलाई भर्ना लिन मानेन। त्यहाँका कर्मचारीले उपचारका लागि २ लाखजति लाग्ने बताए। यताउता गर्दा उनीसँग भएको ५० हजार रुपैयाँ सकियो। २०७७ वैशाखदेखि उनको कम्मरमुनिको भाग चल्न छाड्यो। थला परेपछि परिवारसहित उनी गाई फार्मबाट निकालिए। त्यसपछि गोकर्णको एउटा टहरामा ओत लागेको नरजितको परिवार अहिले समाजसेवीको सहयोगको भरमा छ। नरजित कुनै मनकारीले सहयोग गरे अनि सरकारी अस्पतालले मौका दिए आफ्नो उपचार हुने आशामा छन्।

धापासी बस्ने म्याग्दीकी २९ वर्षीया रीता केसी २०७५ माघ पहिलो साता पित्तथैलीमा देखिएको पत्थरीको शल्यक्रिया गराउन त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगिन्। उनलाई दुई वर्षपछिको शल्यक्रिया मिति दिइयो। निजी अस्पतालमा शल्यक्रिया गर्दा लाग्ने खर्च जुटाउन नसक्ने भन्दै रिता पालो कुरेर बसेकी छन्। कोरोना संक्रमणको महामारी फैलिएपछि त्यो पालो पनि आउनेरनआउने टुंगो छैन। ‘गाह्रो भएको छ, अस्पतालको भरोसामा कहिलेसम्म बाँचिने हो, थाहा छैन,’ उनले भनिन्, ‘अलि गाह्रो भएपछि लकडाउनकै बेला फेरि अस्पताल गएकी थिएँ, डाक्टरले अहिले शल्यक्रिया हुँदैन भनेर फर्काइदिए।’

राजधानीका सुविधासम्पन्न अस्पताल र राम्रो उपचार पद्धति विपन्नहरूको पहुँचबाहिर छ। अहिले पनि झन्डै एक हजार विपन्न नागरिक त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालमा एकदेखि दुई वर्षपछिको शल्यक्रिया मिति कुरेर बसेका छन्। बाजुराका नरजित र म्याग्दीकी रीता मात्रै होइनन्, पेट र छातीको दुखाइ सहँदै बूढानीलकण्ठकी सुभद्रा गजुरेल पनि शल्यक्रियाको पालो पर्खेर बसेकी छन्। २०७६ पुस २३ मा त्रिवि शिक्षण अस्पताल पुगेकी सुभद्रालाई तीन दिनपहिले भिडिओ एक्सरे गर्दा मिर्गौलामा पत्थरी देखिएपछि शल्यक्रियाको समय लिन बोलाएइको थियो। डाक्टरले बिरामी कार्डमा २०७८ माघ पहिलो साता शल्यक्रियाका लागि आउने व्यहोरा लेखिदिए। नागरिक दैनिकमा खबर छ ।