नुवाकोटकी सोमिकाले जन्माइन् पाँच शिुशु, यो पहिलो रेकर्ड हुनसक्ने डक्टरको भनाइ

सफल खबर संवाददाता

सोमबार, १९ असोज २०७७, १८ : ३३
नुवाकोटकी सोमिकाले जन्माइन् पाँच शिुशु, यो पहिलो रेकर्ड हुनसक्ने डक्टरको भनाइ

काठमाडौं । नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले पाँच शिशुलाई जन्म दिएकी छिन् ।

काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा उनले आज सोमबार पाँच शिशुलाई जन्म दिएकी हुन् । अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा कीर्तिपाल सुवेदीको नेतृत्वमा शल्यक्रियामार्फत बच्चा जन्माइएको हो ।

अस्पतालले जनाएअनुसार ५ मध्ये एक जनाको जन्मनुअघि मृत्यु भएको र चार जना जीवित रहेका छन् । जीवित जन्मिएका चार शिशुलाई हाल निगरानीका लागि एनआइसियूमा राखिएको छ । आमा र शिशु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको डा. सुवेदीको भनाइ छ । शिशुहरु १ किलो ९ सय ग्राम, १ किलो ८ सय ग्राम, १ किलो ६ सय ग्राम र ८ सय ग्रामको रहेको अस्पतालले जनाएको छ । 

डा सुवेदीले एकै पटक पाँच जना शिशुलाई जन्म दिएको पहिलो पटक हुन सक्ने बताए । उनले भने, ‘मैले थाहा पाएसम्म एकै पटक पाँच जना शिशुलाई जन्म दिएको यो नै पहिलो पटक हो ।’

डा. सुवेदीको नेतृत्वमा भएको शल्यक्रियामा डा. दिप्ति श्रेष्ठ, डा नमिता सिङदेन संलग्न थिए । यस्तै, एनेस्थेसियामा डा. मुकेश कुमारले नेतृत्व गरेका थिए भने नर्सिङ टिमको नेतृत्व रविना प्रजापतिले गरेको थिइन् । हाल बाल रोग विशेषज्ञ डा. श्रद्धा श्रेष्ठको रोहबरमा शिशुहरुको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस