१७ वर्षियाा युवतीमाथि बसमै बन्धक बनाएर दुई दिनसम्म सामूहिक बलात्कार

पत्रपत्रिकाबाट

सोमबार, १९ असोज २०७७, ०७ : ३८
१७ वर्षियाा युवतीमाथि बसमै बन्धक बनाएर दुई दिनसम्म सामूहिक बलात्कार

काठमाडौँ । यौनजन्य अपराध र घरेलु हिंसाका घटना एकपछि अर्को गरेर बाहिर आइरहेका बेला उपत्यकामै एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–८ लिवालीमा शनिबार रोकिराखेको बा३ख २६१२ नम्बरको बसभित्र १७ वर्षीया किशोरीमाथि बलात्कार भएको हो ।

पीडित किशोरी सिन्धुपाल्चोक घर भई मूलपानी बस्दै आएकी थिइन् । घटनामा संलग्न रहेको आरोपमा सिन्धुपाल्चोकको साँगाचोकगढी–१० चौताराका २२ वर्षीय नीरकुमार खड्का र जुगल–४ का २१ वर्षीय सूर्य श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । खड्का बसका चालक र श्रेष्ठ सहचालक हुन् । दुवै अभियुक्तले प्रहरीसँगको बयानमा कसुर स्विकारेका छन् ।

‘एक जना माल छ, चाहिन्छ भन्दै साथीले फोन गर्‍यो, हामीले पनि हुन्छ भन्यौं,’ बलात्कारमा संलग्न अभियुक्तले बयानमा भनेका छन् । शुक्रबार करिब ११ बजेतिर एक अपरिचितले रत्नपार्कबाट नशालु पदार्थ खुवाएर किशोरीलाई भक्तपुरको सूर्यविनायक पुर्‍याएको थियो । रत्नपार्कमा भेट हुनुअघि एकै पटक युवतीलाई नशालु पदार्थ खुवाएको वा कुराकानीकै क्रममा भेट भएपछि त्यसको फाइदा उठाएको भन्ने अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ ।

करिब २४ घण्टासम्म नशालु पदार्थ खुवाएर किशोरीमाथि उसले पटक–पटक बलात्कार गरेको प्रहरीमा परेको किटानी जाहेरीमा उल्लेख छ । भोलिपल्ट शनिबार बिहान करिब ११ बजेतिर अपरिचित व्यक्तिले किशोरीलाई लिवालीमा पुर्‍याएको थियो । त्यहाँ रहेका खड्का र श्रेष्ठलाई किशोरी जिम्मा लगाएर ऊ त्यहाँबाट हिँड्यो । हाल फरार ती व्यक्ति दिपेश राई भनिएको छ । दिपेश र पक्राउ परेकाहरूको चिनजान पुरानै भएको पनि खुलेको छ ।

त्यसपछि चालक र सहचालकले किशोरीलाई बसभित्रै राखेर पटक–पटक बलात्कार गरेका थिए । लिवालीको तबियाखुसी खोला किनारमा पार्किङ गरेर राखिएको बसभित्र शंकास्पद गतिविधि भएको देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । केहीबेरमै प्रहरी आएपछि खड्का र श्रेष्ठ भागेका थिए, प्रहरीले किशोरीको उद्धार गरेको थियो । प्रहरी बसमा पुग्दा किशोरी होसमै थिइन् । उनले आफूमाथि भएको घटनाको बयान दिएकी छन् । कान्तिपुर दैनिकमा खबर छ ।