बलात्कारबारे जिम्मेवारबाटै गैरजिम्मेवार अभिव्यक्ति

पत्रपत्रिकाबाट

आइतबार, १८ असोज २०७७, ०७ : २८
बलात्कारबारे जिम्मेवारबाटै गैरजिम्मेवार अभिव्यक्ति

बलात्कारका घटना बढिरहेको बेला सत्तापक्षकै शीर्ष नेताले यसलाई हल्का रूपमा लिँदै गैरजिम्मेवार र आपत्तिजनक अभिव्यक्ति दिएका छन्।

सांसद तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले केही साताअघि एक टेलिभिजन अन्तर्वार्ताका क्रममा साबालक बलात्कारसम्बन्धी अधिकांश मुद्दा ‘इन्जोय’ पछि बलात्कारमा परिणत हुने गरेको बताएका थिए। बुधबार गृहमन्त्री रामबहादुर थापाले पनि बलात्कार ‘ग्राफ’ चिन्ताजनक अवस्थामा नरहेको दाबी गर्दै चिन्तित हुननपर्ने बताए।

बलात्कारका घटना बढिरहेका बेला सरकारका जिम्मेवार व्यक्तिहरूले नै यस्ता अभिव्यक्ति दिँदा जघन्य अपराध झन् मौलाउन सक्ने आकलन सुरक्षाविद्को छ।

केही दिनअघि मात्रै बलात्कारपछि बझाङकी १२ वर्षीया सम्झना कामीको हत्या भएको थियो। २०७५ साउनमा कञ्चरपुरको भीमदत्तकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भयो। उक्त घटनामा हत्यारा अझै कारबाहीको दायरामा आएको छैन। सरकारले न्याय दिन नसकिरहेका बेला मन्त्री र सांसदले नै विवादास्पद अभिव्यक्ति दिँदा पीडित थप आहत हुन पुगेका छन्।

नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्लले बलात्कार झन्झन् बढिरहेको अवस्थामा सरकारले त्यसलाई नियन्त्रण गर्ने र कानुनी सजाय दिलाउनेतर्फ गम्भीर चासो दिनुपर्ने आवश्यकता औंल्याए। ‘बलात्कारका घटना बढ्नु राम्रो होइन, अझ बलात्कारपछि हत्या नै भएको छ। यस्तो अवस्थामा दोषीलाई सरकारले जस्तोसुकै कदम चालेरै भए पनि कारबाही गर्न सक्नुपर्छ,’ उनले भने, ‘तर जघन्य अपराधमा संलग्न कतिपयलाई अझै कारबाही भएको छैन। नगरिक दैनिकमा खबर छ ।