राजतन्त्रदेखि गणतन्त्रसम्म खतिवडालाई पदैपद

पत्रपत्रिकाबाट

शुक्रबार, १६ असोज २०७७, ०८ : ०२
राजतन्त्रदेखि गणतन्त्रसम्म खतिवडालाई पदैपद

काठमाडौं । सरकारले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाको राजदूतका लागि सिफारिस गर्ने निर्णय गरेको छ । खतिवडा राजतन्त्रदेखि गणतन्त्रसम्म निरन्तर नियुक्ति पाउने व्यक्तिका रूपमा चिनिएका छन् । राष्ट्रिय योजना आयोगबाट बिदा भएलगत्तै राष्ट्र बैंकको गभर्नर बन्न सफल भएका खतिवडा राष्ट्र बैंकबाट बिदा भएलगत्तै पुनः राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको रोजाइमा परेकै कारण खतिवडाले राष्ट्रिय सभामा मनोनित भएको केही दिनमै अर्थमन्त्रीको जिम्मेवारी पाएका थिए । राष्ट्रिय सभाको कार्यकाल सकिएसँगै अर्थमन्त्रीबाट हटेलगत्तै पुनः सरकारले सरकारको विशेष आर्थिक सल्लाहकारका रूपमा नियुक्त गरेको थियो । मन्त्रीसरहको सुविधासहित आर्थिक सल्लाहकार रहेका खतिवडालाई एक महिना पनि बित्न नपाउँदै सरकारले अमेरिकाका लागि राजदूतमा सिफारिस गरेकोे छ ।

तत्कालीन राजा ज्ञानेन्द्रको निरंकुश शासनको बेलामा राष्ट्रिय योजना आयोगमा नियुक्ति पाएका खतिवडाले जनआन्दोलनपछि फेरिएको व्यवस्थामा पनि निरन्तर राजनीतिक नियुक्ति पाइरहे । २०५८ देखि शुरु भएको उनको नियुक्तिको शृंखलाले सबैलाई आश्चार्य चकित बनाएको छ ।

नेकपाभित्र लामो त्याग र बलिदान गरेका नेताहरूलाई पाखा लगाउँदै पार्टीमा कुनै लगानी र योगदान नै नभएका खतिवडालाई प्रधानमन्त्रीले अर्थमन्त्री बनाए । जुन निर्णयको पार्टीभित्र चर्को आलोचना भए पनि प्रधानन्त्रीले बचाउ गरे । नेपाल समाचारपत्रमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस