धितोपत्र बोर्डद्वारा सम्पत्ति शुद्धीकरण सुपरीवेक्षण म्यानुअल कार्यान्वयनमा

सफल खबर संवाददाता

विहीबार, १५ असोज २०७७, १५ : १५
धितोपत्र बोर्डद्वारा सम्पत्ति शुद्धीकरण सुपरीवेक्षण  म्यानुअल कार्यान्वयनमा

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा धितोपत्र व्यवसायीको जोखिममा आधारित सुपरीवेक्षण म्यानुअल २०७७ बिहीबारदेखि कार्यान्वयनमा ल्याएको छ । 

अपराधजन्य कार्यबाट आर्जित आयलाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशनमा भएको व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्न जोखिममा आधारित सुपरीवेक्षणको म्यानुअल लागू गरिएको पनि बोर्डले जनाएको छ । बोर्डका उपकार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले यसअघि पनि सम्पत्ति शुद्धीकरण सम्बन्धमा बोर्डले सुपरिवेक्षण गर्दै आएकोमा आजदेखि अन्तर्राष्ट्रिय स्तरको रुपबाट जोखिममा आधारित सुपरिवेक्षण गर्नका लागि सुपरिवेक्षण म्यानुअल बनाएर जारी गरिएको बताए ।

यसबाट जोखिममा आधारित सुपरीवेक्षण कसरी गर्ने भन्ने सम्बन्धमा ब्रोकर तथा मर्चेन्ट बैंकरहरुको कारोबार, कार्यालय, ग्राहकलाई समेत समेटेर प्यारामिटर तयार गरी सोही आधारमा जोखिम गणना गरिने श्रेष्ठले स्पस्ट पारे । जोखिमको गणना गर्दा १ देखि ५ सम्म अंक दिइने गरी म्यानुअल तयार पारिएको उनले बताए । यस अनुसार जसको सबैभन्दा बढी जोखिम अर्थात ५ अंक आउँछ त्यसको वर्षैपिच्छे स्थलगत निरीक्षण गरिने पनि उनले बताए । कम जोखिम आउनेलाई दुई तीन वर्षको अन्तरालमा स्थलगत निरीक्षण गरिने श्रेष्ठले बताए ।

नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ नेपालको धितोपत्र क्षेत्र सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापबाट मुक्त होस भन्ने उद्देश्यले म्यानुअल तयार पारी लागू गरिएको उनले बताए । सकेसम्म सम्पत्ति शुद्धीकरण सम्बन्धित क्रियाकलाप नहोस् भन्ने रहेको र भइहाल्यो भने पनि सुपरीवेक्षण म्यानुअलबाट भेटाउन सजिलो हुने विश्वास बोर्डको रहेको श्रेष्ठले बताए ।

सुपरीवेक्षण म्यानुअलबाट व्यवसायीको स्थलगत तथा गैरस्थलगत सुपरिवेक्षण गरिने, धितोपत्र व्यवसायीहरुबाट संकलन गरिने परिमाणत्मक तथा गुणात्मक तथ्यांक तथा विवरणहरुबाट धितोपत्र व्यवसायीको गैरस्थलगत जोखिम मूल्याङ्कन हुनेछ । यसबाट उनीहरुसँग सम्बन्धित सम्पत्ती शुद्धीकरण जोखिम कति हुन्छ भनेर गणना गर्नसक्ने स्थितिमा बोर्ड पुगेको श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस