ओली–प्रचण्ड वार्ता सकियो, आज पनि जुटेन मन्त्रिपरिषद् पुनर्गठनबारे सहमति

सफल खबर संवाददाता

सोमबार, १२ असोज २०७७, १४ : ५४
ओली–प्रचण्ड वार्ता सकियो, आज पनि जुटेन मन्त्रिपरिषद् पुनर्गठनबारे सहमति

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भएको छलफल सकिएको छ ।

मन्त्रिपरिषद् पुनर्गठनमा सहमति जुटाउन लगातार छलफलमा जुटिरहेकाका उनीहरुबीच आज पनि सहमति हुन नसकेको बताइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा ओली–प्रचण्डबीच बिहान ११ बजेदेखि सबा दुईबजेसम्म छलफल भएको थियो ।

प्रचण्ड स्रोतका अनुसार पछिल्लो दुई दिन मन्त्रिपरिषद् पुनर्गठनमै केन्द्रित भएर कुराकानी भएपनि मन्त्रिपरिषद् पुनर्गठन कुन विधि, प्रक्रियाबाट गर्ने, मापदण्ड के बनाउने भन्ने विषयमा सहमति जुटिसकेको छैन ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले केही मन्त्री हटाउने, केही नयाँ अनुहार थप्नेगरी मन्त्रिपरिषद् बैठक तत्काल पुनर्गठन गर्नुपर्ने पक्षमा छन् । प्रचण्डसँगको भेटमा यही आशय व्यक्त गरेका छन् । तर, प्रचण्डले उपाध्यक्ष वामदेव गौतमलाई पनि मन्त्रिपरिषद् बैठकमा सहभागी गराउनुपर्ने भएकाले तत्काल पुनर्गठन गर्न नहुने पक्षमा छन् । उपाध्यक्ष गौतमविरुद्ध परेको रिटको पेसी १४ गतेलाई तोकिएको छ । त्यसदिन फैसला आउने सम्भावना रहेकाले अहिले नै मन्त्रिपरिषद् पुनर्गठन गर्न हतारिननहुने  प्रचण्डको धारणा छ ।

प्रतिक्रिया दिनुहोस