अमेरिकी राष्ट्रपति ट्रम्पमाथि आयकर नतिरेको आरोप

एजेन्सी

सोमबार, १२ असोज २०७७, ११ : ५६
अमेरिकी राष्ट्रपति ट्रम्पमाथि आयकर नतिरेको आरोप

फाइल फोटो

एजेन्सी । अमेरिकी राष्ट्रपतिका रुपमा दोस्रो कार्यकालका लागि समेत आकांक्षी बनेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आयकर नतिरेको आरोप लागेको छ ।

राष्ट्रपति ट्रम्पले सन् २०१६ मा आयकर स्वरुप ७५० डलर मात्रै तिरेको खबर प्रतिष्ठित पत्रिका द न्यूयोर्क टाइम्सले प्रकाशित गरेको छ । राष्ट्रपतिमा निर्वाचित भएको वर्ष अर्बपति ट्रम्पले संघीय आय कर ७५० डलर मात्रै तिरेको देखिएको खबरमा उल्लेख छ ।

ट्रम्प र उनको कम्पनीको कर सम्बन्धी पछिल्लो दुई दशकको जानकारी आफूले प्राप्त गरेको द न्यूयोर्क टाइम्सले बताएको छ । तथ्यांक अनुसार ट्रम्पले पछिल्लो १५ वर्ष मध्ये १० वर्ष आय कर नै नतिरेको देखिएको पत्रिकाले जनाएको छ । ट्रम्पको कम्पनीले नोक्सान भएको रिपोर्ट बनाएर कर छली गरेको देखिएको खबरमा दाबी गरिएको छ ।

ट्रम्पले न्यूर्योक टाइम्सको खबरलाई ‘टोटल्ली फेक न्यूज’ भनि खारेज गरेका छन् । आइतबार न्यूयोर्क टाइम्समा स्टोरी प्रकाशित भएपछि ट्रम्पले पत्रकारसँग आफ्नो बचाउ गर्दै भनेका छन्, ‘वास्तवमा मैले तिरेको छु, तर तपाईँहरु सबैले मेरो कर सम्बन्धी काम सकिएपछि देख्नु हुनेछ ।’

राष्ट्रपति ट्रम्प र ट्रम्प अर्गनाइजेशनको स्वामित्वमा रहेका कम्पनीको कर सम्बन्धी जानकारीहरुको आफूहरुले अध्ययन गरेको न्यूयोर्क टाइम्सले जनाएको छ । उनका कम्पनीको सन् १९९० यताको कर सम्बन्धी विवरण अध्ययन गरेको पत्रिकाले जनाएको छ।

यस्तै सन् २०१६ र २०१७ को उनको व्यक्तिगत कर विवरण पनि अध्ययन गरेको जनाइएको छ। पत्रिकाले दाबी गरे अनुसार ट्रम्पले सन् २०१६ र २०१७ मा समान ७५० अमेरिकी डलर कर तिरेका थिए। ट्रम्प अर्गनाइजेशनले पनि पत्रिकामा गरिएको दाबी खारेज गरेको छ ।

प्रतिक्रिया दिनुहोस