६ महिनापछि स्कुल खुल्दा विद्यार्थी बिच उल्लास

पत्रपत्रिकाबाट

सोमबार, १२ असोज २०७७, ०७ : ४७
६ महिनापछि स्कुल खुल्दा विद्यार्थी बिच उल्लास

फाईल तस्वीर

घोराही । घोराही उपहानगरपालिका हापुरकी समीक्षा दाहालले ६ महिना घरभित्रै गुम्सिएर बिताइन् । हापुर मावि निघुवार कक्षा १० की विद्यार्थी उनलाई लाग्थ्यो, स्कुल कहिले खुल्ला रु स्कुल बन्द हुँदा उनमा बेचैनी बढ्यो । तर अहिले स्कुल खुलेको छ, कोरोना त्रास भए पनि उनी खुसी छिन् ।

दाहालले कक्षा ९ को परीक्षा दिएपछि कोरोनाका कारण ६ महिनासम्म स्कुल बन्द भयो । उनको स्कुले साथीसँग लामो समयसम्म भेटघाट हुन सकेन । ‘कक्षामा पढ्ने साथीसँग पनि लामो समयसम्म भेट हुन सकेन,’ उनले भनिन्, ‘पढ्न पनि पाइएन । घरभित्रै थुनिएर बस्दा साह्रै अप्ठेरो भयो, बेचैनी बढ्यो ।’ ६ महिनापछि उनको त्यो असहजता मेटिएको छ । अहिले उनी नियमित विद्यालय जान थालेकी छन् । ‘६ महिनापछि स्कुल जान पाइयो,’ उनले भनिन्, ‘स्कुल जान पाउँदा धेरै खुसी लागेको छ ।’ विद्यालय जान पाउँदा हर्षित उनलाई कोरोना संक्रमणको त्रासले भने घोचिरहेको छ । ‘कोरोनाको डर त छ तर मास्क लगाएर विद्यालय जान्छौं, पटकपटक हात धुन्छौं,’ उनले भनिन् ।

हापुरकै केशव बस्नेतले पनि ६ महिनापछि विद्यालय खुलेपछि साथीसँग भेट्न पाए । ६ महिनापछि स्कुल गएर पढ्न पाउँदा उनी पनि दंग छन् । ‘यो वर्षभरि नै स्कुल गएर पढ्न पाइन्न कि भन्ने डर लागिरहेको थियो,’ उनले भने, ‘तर स्कुल खुल्यो, खुसी लागेको छ ।’ उनले सुरक्षा सावधानी अपनाएर विद्यालय जाने गरेको बताए । ‘मास्क अनिवार्य प्रयोग गर्छौं अनि भौतिक दूरी पनि कायम गरी पढ्छौैं,’ उनले भने, ‘विद्यालयले पनि हात धुन साबुनपानीको व्यवस्था गरिदिएको छ ।’

जया बस्नेत पनि असोज सुरु भएपछि नियमिति स्कुल जान्छिन् । उनले पनि सुरक्षा सावधानी अपनाएर स्कुल जाने गरेको बताइन् । सरकारले सिकाइ निर्देशिका, २०७७ जारी गरेसँगै सामाजिक दूरी कायम गरी विद्यालय सञ्चालन गर्न अनुमति दिएपछि विद्यार्थी खुसी भएका हुन् । ‘मलाई यो वर्ष विद्यालय खुल्छ र पढ्न पाइन्छ भन्ने लागेकै थिएन,’ सोही विद्यालयकी विद्यार्थी जयाले भनिन्, ‘तर सरकारले विद्यालय खोल्ने वातावरण बनाइदियो, हामी स्कुल जान पायौं ।’ ‘६ महिनापछि स्कुल जान पाइयो,’ विद्यार्थी समीक्षा दाहालले भनिन्, ‘स्कुल जान पाउँदा धेरै खुसी लागेको छ ।’ विद्यालय जान पाउँदा हर्षित उनलाई कोरोना त्रासले भने घोचिरहेको छ । ‘कोरोनाको डर त छ तर मास्क लगाएर विद्यालय जान्छौं,’ उनले भनिन्, ‘पटकपटक हात धुन्छौं ।’

सरकारले जारी गरेको निर्देशिका र स्वास्थ्य सुरक्षा मापदण्डमा टेकेर जिल्लाका अधिकांश सामुदायिक तथा निजी विद्यालयले समूह निर्धारण गरी आलोपालो पढाउन थालेका छन् । केही विद्यालय पठनपाठन सुरु गर्ने प्रक्रियामा छन् । तर कोरोना महामारी बढेर फेरि विद्यालय बन्द हुने हुन् कि भन्ने त्रास पनि विद्यार्थीमा छ । असोज पहिलो सातादेखि नियमित अध्ययनका लागि विद्यालय पुगेका बालबालिका अब विद्यालय बन्द नभइदिए हुन्थ्यो भन्ने चाहन्छन् । ‘६ महिनापछि बल्ल स्कुल गएर पढ्न पाएका छौं,’ घोराहीस्थित हिन्दु विद्यापीठ नेपालमा ९ कक्षामा अध्ययनरत छाया बस्नेतले भनिन्, ‘अब स्कुल बन्द नभइदिए हुने थियो ।’ नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस