२० वटा वडाका ८५० करदाता महानगरको अनलाइन प्रणालीमा जोडिए

सफल खबर संवाददाता

आइतबार, ११ असोज २०७७, १५ : ४९
२० वटा वडाका ८५० करदाता महानगरको अनलाइन प्रणालीमा जोडिए

काठमाडौं । १० दिनको अवधिमा काठमाडौं महानगरका २० वटा वडाबाट ५० जना करदाताले अनलाइन प्रणालीबाट रकम भुक्तानी गरेका छन् । 

महानगरलाई तिर्नु बुझाउनु पर्ने कर राजस्व निर्धारण तथा संकलन प्रणालीबाट भुक्तानी गरेका हुन् । महानगरले असोज १ गतेदेखि वडा १, २, ३, ४, १०, ११, १५, २६, ३० र ३१ बाट प्रणाली सञ्चालनमा ल्याएको हो । सफ्टवेयर सञ्चालन गर्ने प्राबिधिक ज्ञान दिँदै असोज ५ गतेदेखि वडा ५, ६, ७, ९, १२, १४, १६, २, २९ र ३२ वडामा प्रणाली सञ्चालन गरियो । यस अवधिमा प्रणालीमा जोडिएका करदाताले तिरेको करबाट महानगरले १ करोड ६० लाख रुपैयाँ राजस्व प्राप्त गरेको, राजस्व बिभागका निर्देशक शिवराज अधिकारीले जानकारी दिए । 

अहिले वडा ९, १३, १७, १८, १९, २० २१, २२, २३, २४, २५ र २७ गरी १२ वटा वडाका कर्मचारीका लागि तालिम भइरहेको छ । आज र भोलि २ दिन हुने तालिमपछि पर्सि अर्थात् मंगलबार ती सबै वडामा प्रणाली सञ्चालन गर्ने लक्ष्य छ । यसो भएमा, असोज १ गतेबाट चरणवद्ध रुपमा सञ्चालन थालिएको राजस्व निर्धारण तथा संकलन प्रणालीलाई असोज १३ गतेदेखि सबै वडामा पुग्नेछ ।  

महानगरले प्रयोगमा ल्याएको यस प्रणालीको विकासकर्ता सांग्रिला इन्फरमेटिक्स प्रा. लि. हो ।

प्रतिक्रिया दिनुहोस