सरकारको ढुकुटीमै असर पार्ने गरि पुनः राजस्व छलीमा मुछियो शंकर ग्रुप, तर यही कम्पनीका मालिकलाई दियो सरकारले तक्मा !

सफल खबर संवाददाता

आइतबार, ११ असोज २०७७, १० : २७
सरकारको ढुकुटीमै असर पार्ने गरि पुनः राजस्व छलीमा मुछियो शंकर ग्रुप, तर यही कम्पनीका मालिकलाई दियो सरकारले तक्मा !

काठमाडौं । कहिले कालोबजारी त कहिले कमसल सामग्री उत्पादन गरेर बदनामी कमाएको शंकर ग्रुपको अर्को कर्तुत फेरी पर्दाफास भएको छ ।  हुन त जतिसुकै गल्ती गरेपनि उसैलाई ओली नेतृत्वको सरकारले दुनियालाई चकित पार्नेगरी बक्सिस दिँदै आएको छ । यसको पछिल्लो उदाहरण हो–राष्ट्रपतिबाट दिइएको तक्मा । अहिले त्यही शंकर ग्रुप सरकारबाटै तक्मा पाएर सरकारकै ढुकुटी हल्लाउने गरि राजश्व छलीमा मुछिएको खुलासा भएको छ र यो प्रकरणमा सरकार कसरी अघि बढ्न हेर्न बाँकी नै छ । 

तर, अहिले शंकर ग्रुपले राजस्व छली गरेको, गुणस्तरहीन सामान बिक्री गरी उपभोक्तालाई ठगी गरेको र कालोबजारी गरेको भन्दै सरकारका तीन नियामक निकाय सम्पति शुद्धीकरण अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग र गुणस्तर तथा नापतौल विभागले छानबिन र कारबाहीलाई एकैपटक अघि बढाएको छ ।

शंकर ग्रुपका विभिन्न कम्पनीले राजस्व छली गरेको पाइएपछि राजस्व अनुसन्धान विभागले ती कम्पनीमाथि छानबिन थालेको हो । यस्तै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि उसका केही कम्पनीमाथि छानबिन थाल्दा राजस्व छलेको पाइएपछि राजस्व अनुसन्धान विभागमार्फत छानबिनलाई अघि बढाइएको जनाएको छ । 

शंकर ग्रु्पद्वारा उत्पादित जगदम्बा ब्रान्डका डन्डी गुणस्तरहीन भएको पाइएको छ भने नापतौल विभागले जगदम्बा स्टिलद्वारा उत्पादित १६ एमएमको टीएमटी वान फलामे डन्डी बिक्री वितरणमा पूर्णतः रोक लगाएको छ । शंकर ग्रुपले बजारमा पठाएको करोडौं मूल्यबराबरको सो डन्डी फिर्ता गरी नष्ट गर्नसमेत विभागले निर्देशन दिइसकेको छ । यसैगरी विभिन्न उत्पादमा कालोबजारी गरी सर्वसाधारणलाई ठगी गर्दै अकुत सम्पति कमाएको पाइएपछि सम्पति शुद्धीकरण अनुसन्धान विभागले पनि ग्रुप सम्बद्ध विभिन्न कम्पनीको कामकाज बारेमा गम्भीर छानबिन थालेको हो । 

 

कोरोना महामारीको समयमा बजारमा थर्मल गनको कालोबजारी गर्दा गर्दै पक्राउ परेका कम्पनीका सञ्चालक सुलभ अग्रवाललाई सम्पति शुद्धीकरण अनुसन्धान विभागले समेत केही समय नियन्त्रणमा लिएर छोडेको थियो । स्रोतका अनुसार उनी त्यतिबेला ठूलो चलखेलमा बाहिरिन सफल भएका थिए ।  यद्यपि अहिले पनि उनीमाथिको मुद्दा विचाराधीन अवस्थामा नै छ । यता सम्पति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक रूपनारायण भट्टराईले शंकर ग्रुपद्वारा सञ्चालित सबै कम्पनीको सम्पति र सम्पतिको स्रोतबारे सम्पति शुद्धीकरण अनुसन्धान विभागले छानबिन गरिरहेको जानकारी दिए । 

सम्पति शुद्धीकरण अनुसन्धान विभागले शंकर ग्रुपद्वारा सञ्चालित विभिन्न कम्पनीले फ्रड धन्दा र कालोबजारीबाट आर्जन गरेको सम्पति खोज्न विशेष अनुसन्धान संयन्त्र बनाउन पहल थालेको स्रोतको दावी छ । 

सरकारले शंकर गु्रपलाई यसरी दिएको थियो तक्मा
गुणस्तरहीन छड उत्पादन गर्ने जगदम्बा स्टिलको माउ संस्था शंकर ग्रुपका मालिक हुन् शुलभ अग्रवाल । गत चैत अन्तिम साता देश कोरोना सन्त्रासले भयभित भईरहदा स्वास्थ्य सामग्री बेचबिखनमा कालोबजारी गरेपछि उनी पक्राउ परेका थिए । त्यतिबेला उनको अर्को परिचय कीर्गिस्तानका लागि अवैतनिक महावाणिज्यदूत समेत थिए । 

कालोबजारीको आरोपमा पक्राउ परेका उनलाई पछि प्रहरीले रिहा गरेको थियो । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ज्वरो नाप्ने थर्मल गन महँगो मूल्यमा बेच्न खोजेको पाइएपछि हत्कडी लगाएको थियो ।  पाँच हजार रुपैयाँ पर्ने थर्मल गन उनले १५ हजार रुपैयाँमा बिक्री गर्न खोजेपछि पक्राउ परेका थिए । 

उनै अग्रवालका बाबु शंकरलाललाई सरकारले पदक बक्सिस दिएको हो । थर्मल गनको कालोबजारीका साथै गुणस्तरहीन जगदम्बा स्टिल बेचेर उपभोक्ता ठग्ने अग्रवालको कम्पनीको तारिफ गर्दै सरकारले प्रबल जनसेवा श्री (चतुर्थ) बाट शंकरलाललाई विभूषित गरेको हो । संविधान दिवसका दिन राष्ट्रपति कार्यालयले प्रमाणीकरण गरेर सार्वजनिक भएको नामावलीको लहरमा उनको नाम पनि थियो । पदकको गरिमा नरहेको भनिएको बेला अग्रवाल जस्ताले यस्तो पदक पाएपछि थप विवाद सिर्जना भएको छ । 

शंकर ग्रुप अन्तर्गत जगदम्बा सिमेन्ट, रिद्धिसिद्धि सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा मोटर्स, कृषि, खाद्यान्न तथा एमसीजी, चुरोट, प्याकेजिङ, रियलस्टेट, हस्पिटालिटी, विद्युतीय, जीवन बिमा, क्रेडिट रेटिङ र व्यापारलगायतका विभिन्न १५ वटा भन्दा बढी क्षेत्रमा लगानी विस्तार भइरहे पनि तीमध्ये कतिपय कम्पनीद्वारा उत्पादित वस्तुहरू गुणस्तरहीन पाइएको छ । यी सबैको धन्दाबारे राज्यका महत्त्वपूर्ण निकायले छानबिनमा अग्रसरता देखाएपछि अब कसरी कारबाही हुन्छ, त्यो भने भविष्यले नै देखाउला ?

प्रतिक्रिया दिनुहोस