यस वर्षको बजेट १० खर्ब ८३ अर्ब

पत्रपत्रिकाबाट

विहीबार, २४ फागुन २०७४, ०८ : १०
यस वर्षको बजेट १० खर्ब ८३ अर्ब

अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको बजेटको आकार घटाएको छ । चालू आवका लागि संसद्ले १२ खर्ब ७९ अर्बको बजेट पारित गरे पनि त्यसको आकार घटेर १० खर्ब ८३ अर्ब रुपैयाँ मात्रै खर्च गर्न सकिने प्रक्षेपण मन्त्रालयले गरेको हो । बुधबार बजेटको मध्यावधि समीक्षामार्फत बजेटको आकार १५ दशमलव ३३ प्रतिशतले घटाएको हो ।

यो प्रक्षेपित बजेट गत आर्थिक वर्षको यथार्थ खर्चको तुलनामा ३१ प्रतिशतले बढी भएको अर्थ मन्त्रालयले जनाएको छ । गत आर्थिक वर्ष ०७३/७४ मा सरकारले १० खर्ब ४९ अर्बको बजेट प्रस्तुत गरे पनि वास्तविक खर्च भने जम्मा ८ खर्ब ३१ अर्ब मात्रै भएको थियो ।

कुल बजेटमध्ये चालूतर्फ ७ खर्ब ३८ अर्ब ९४ करोड खर्च हुने प्रक्षेपण पनि मन्त्रालयले गरेको छ । यसअघि सरकारले ८ खर्ब ३ अर्ब चालू बजेट विनियोजन गरेको थियो । चालू खर्चतर्फ मध्यावधि समीक्षामार्फत गरिएको प्रक्षेपण सुरुको विनियोजनको ९१ दशमलव ९६ प्रतिशत हो ।

त्यस्तै, यस वर्ष २ खर्ब ३४ अर्ब ६२ करोड रुपैयाँ मात्रै पुँजीगत बजेट खर्च गर्न सकिने प्रक्षेपणसमेत अर्थ मन्त्रालयले गरेको छ । यसअघि ३ खर्ब ३५ अर्ब रुपैयाँ पुँजीगत बजेट विनियोजन गरे पनि त्यसको ७० प्रतिशत मात्रै खर्च हुने अनुमान अर्थले गरेको हो ।

वित्तीय व्यवस्थातर्फ भने यसअघि कुल १ खर्ब ४० अर्ब विनियोजन गरेकामा ७८ प्रतिशत अर्थात् १ खर्ब ९ अर्ब ४२ करोड बजेट खर्च हुने अनुमान अर्थ मन्त्रालयले गरको हो ।, यो खबर आजकोनयाँ पत्रिकामा छ ।

प्रतिक्रिया दिनुहोस