भाँचियो देशको मेरुदण्ड – ६

कालोबजारीका नाइकेलाई सरकारी विभूषण

सफल खबर संवाददाता

बुधबार, ०७ असोज २०७७, १५ : ५८
कालोबजारीका नाइकेलाई सरकारी विभूषण

फाइल फोटो

काठमाडौं । गुणस्तरहीन छड उत्पादन गर्ने जगदम्बा स्टिलको माउ संस्था शंकर ग्रुपका मालिक हुन् शुलभ अग्रवाल । गत चैत अन्तिम साता स्वास्थ्य सामग्री कालोबजारी गरेपछि पक्राउ पर्नुअघि उनको परिचय त्यतिमात्रै सीमित थिएन । उनी कीर्गिस्तानका लागि अवैतनिक महावाणिज्यदूत समेत थिए । 

कालोबजारीको आरोपमा पक्राउ परेका उनलाई पछि प्रहरीले रिहा गरेको थियो । महानरीय प्रहरी अपराध महाशाखाको टोलीले ज्वरो नाप्ने थर्मल गन महँगो मूल्यमा बेच्न खोजेको पाइएपछि हत्कडी लगाएको थियो ।  पाँच हजार रुपैयाँ पर्ने थर्मल गन उनले १५ हजार रुपैयाँमा बिक्री गर्न खोजेपछि पक्राउ परेका थिए । 

यो त भयो विगतको कुरा, हालै उनै अग्रवालका बाबु शंकरलाललाई सरकारले बक्सिस दिन पुगेको छ । थर्मल गनको कालोबजारीका साथै गुणस्तरहीन जगदम्बा स्टिल बेचेर उपभोक्ता ठग्ने अग्रवालको कम्पनीको तारिफ गर्दै सरकारले प्रबल जनसेवा श्री (चतुर्थ) बाट शंकरलाललाई विभूषित गरेको हो । सरकारले पाँचौं संविधान दिवसका अवसरमा अग्रवाललाई यस्तो मानपदवी एवं पदकले सम्मानित गरेपछि सरकारमाथि नै गम्भीर प्रश्न उठेको छ ।

संविधान दिवसका दिन राष्ट्रपति कार्यालयले प्रमाणीकरण गरेर सार्वजनिक भएको नामावलीको लहरमा उनको नाम पनि थियो । पदकको गरिमा नरहेको भनिएको बेला अग्रवाल जस्ताले यस्तो पदक पाएपछि यस्तो आलोचनालाई थप बल पुगेको छ ।  

को हुन् शंकरलाल ?

माडवारी समुदायको उद्गमस्थल भारतको राजस्थानबाट आएका थिए, रावतमल गोल्यान । उनका  कान्छा छोरा हुन्, शंकरलाल अग्रवाल (गोल्यान) । उनले सन् १९७० देखि नेपालमा व्यवसाय सुरु गरेका थिए भने उनले यहाँ सबैभन्दा पहिले कपडाको व्यापार गरेका थिए । 

विभिन्न देशबाट कपडा ल्याएर व्यापार थालेका शंकरलालले सुरुका करिब १० वर्ष कपडाको व्यापारमै बिताएका थिए । उनले बिस्तारै आफ्नो व्यवसाय विस्तार गरी अहिलेको ठूलो व्यापारिक घराना शंकर ग्रुप स्थापित गरेका हुन् ।

उनै शंकरकका छोरा हुन् सुलभ । शंकर ग्रुप अन्तर्गत जगदम्बा सिमेन्ट, रिद्धिसिद्धि सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा मोटर्स, कृषि, खाद्यान्न तथा एमसीजी, चुरोट, प्याकेजिङ, रियलस्टेट, हस्पिटालिटी, विद्युतीय, जीवन बिमा, क्रेडिट रेटिङ र व्यापारलगायतका विभिन्न १५ वटा भन्दा बढी क्षेत्रमा लगानी विस्तार भइरहे पनि तीमध्ये कतिपय कम्पनीद्वारा उत्पादित वस्तुहरू गुणस्तरहीन पाइएको छ ।

पछिल्लो समय शंकर ग्रुप अन्तर्गतको जगदम्बा हस्पिटालिटीले निर्माण गरिरहेको हिल्टन होटलले स्थानीयलाई निकै सास्ती दिँदै आएको समेत पाइएको छ । सो होटल निर्माणका क्रममा पालना गर्नुपर्ने न्यूनतम मापदण्डलाई समेत बेवास्ता गर्दै आइरहेको छ । होटलले निर्माण मापदण्डलाई पूर्ण बेवास्ता गरे पनि सम्बन्धित निकायले कारबाही प्रक्रिया अगाडि बढाउन सकेको छैन । 

जगदम्बा स्टिल्सद्वारा उत्पादित १६ एमएमको टीएमटी बार फलामे डन्डी पनि शंकर गु्रपअन्तर्गतकै हो । यो डन्डी गुणस्तरहीन प्रमाणित भई कारबाहीमा परिसकेको छ । शंकर ग्रुपको चौतर्फी ठगी धन्दा हुँदाहुँदै र ग्राहक पीडित भइरहँदा सरकारले कसरी पदक उपहार दियो ? यो भने चासोको विषय बनेको छ । 

प्रतिक्रिया दिनुहोस